
७ मंसिर,बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मतगणनाको सुरुदेखिको अग्रता कायम राखेका छन् ।
झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लिङ्देनले बिहान ९ः३० बजेसम्मको परिणामअनुसार २ हजार ७ सय ८ मतले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अग्रता कायम राखेका हुन् । ३८ हजार २ सय २२ मत गणना सकिँदासम्म लिङ्देनले १८ हजार १ सय ३४ मत पाएका छन् । उनलाई पछ्याइरहेको सिटौलाले १५ हजार ४ सय २६ मत पाएका छन् ।
१ लाख ३१ हजार ४ सय ३२ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ८९ हजार मत खसेको थियो । २०७४ को चुनावमा सिटौलालाई १३ हजार बढी मतान्तरले पराजित गरी लिङ्देन पहिलो पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
सिटौला गठबन्धनका उम्मेदवार हुन् भने लिङ्देनले गृहजिल्लामा एमालेसँग चुनावी तालमेल गरेको थियो ।

