adv

सातौं चुनावी रेसमा ओली, छैठौं पटक चुनाव जित्दै

कमन देवान
७ मंसिर, दमक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सातौं चुनावी रेसमा छन् भने छौटौं पटकको चुनावी जितको सम्मुख छन् ।

१ लाख ५४ हजार २ सय ८९ मतदाता रहेको झापा क्षेत्र नम्बर ५ को गत मंसिर ४ गते आइतबार सम्पन्न निर्वाचनमा १ लाख २ हजार १ सय ५० मत खसेको थियो । आज बुधबार बिहान १० बजेसम्ममा ७६ हजार १ सय ६९ मत गणना सकिएको छ । ओलीले ३९ हजार ९७ मत पाएका छन् ।

२५ हजार ८ सय ८१ मत गन्नु बाँकी रहँदा आफ्ना निकट प्रतिस्पर्धी सत्ता गठबन्धन उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी भन्दा १८ हजार ७ सय १२ मतले अगाडि देखिन्छन् ।

अधिकारीले १९ हजार ३ सय ८५ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् । अन्य दलका र स्वतन्त्र उम्मेद्वार कम मतका साथ प्रतिस्पर्धामा छन् । ४ हजार १ सय ६० मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

आम निर्वाचन २०४८ मा यसै निर्वाचन क्षेत्र (तत्कालीन झापा निर्वाचन क्षेत्र ६) बाट डेब्यु गरेका ओलीले मध्यावधि २०५१ मा चुनाव मात्रै जितेनन्, मनमोहन अधिकार नेतृत्वको ९ महिने सरकारमा गृहमन्त्रीसमेत बने ।

आम निर्वाचन २०५६ मा पनि ओली लगातर तेस्रो पटक झापा क्षेत्र नम्बर २ र ६ बाट निर्वाचित भएका थिए भने उनले झापा ६ छोड्दा यहाँ उप निर्वाचन भइ नेपाली कांग्रेसका डा. गोपाल कोइरालाले मौका पाएका थिए ।

२०६२/६३ को जन आन्दोलनपछि गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त भएका ओली २०६४ चैत २८ गते सम्पन्न पहिलो पटकको संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका उम्मेद्वार विश्वदीप लिङ्देनसँग थोरै मतले पराजित भएका थिए ।

२०७० मा दोस्रो पटक सम्पन्न संविधान सभा निर्वाचनमा ओलीले नेपाली कांग्रेसका सुरेश सुब्बालाई पराजित गर्दै संविधान सभा सदस्य बने भने २०७२ असोज २४ गते पहिलो पटक देशको प्रधानमन्त्री समेत भए ।

२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अहिलेकै प्रतिस्पर्धी अधिकारीलाई २८ हजार ८ सय बढी  मतको फराकिलो मतान्तरले पराजित गरेका ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बने ।

साढे ३ वर्ष सत्तामा बसेका उनले २०७७ पुष ५ गते र २०७८ जेठ ८ गते गरी २ पटक संसद बिघटनको प्रयास गरेका थिए । तर, सर्वोच्च अदालतले उनको दुवै पटकको सो कदमलाई खारेज गरिदिएको थियो । संसद बिघटनविरुद्ध परमादेश नै गरेर सर्वोच्चले शेरबहादुर देउवालाई संवैधानिक प्रावधान बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको थियो ।

यसैबीच तत्कालीन नेकपा (एमाले–माओवादी केन्द्र) लाई सर्वोच्च अदालतको फैसलाले अलग गरिदिएपछि अल्पमतमा परेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

आफ्ना आलोचक र विपक्षीमाथि तीतो र खरो टिप्पणी गर्न र व्यंग्यात्मक प्रहार गर्न सिपालु ओली उखान टुक्कामा पनि माहिर छन् । मानिसहरु उनका मजाकमिश्रित वाणीबाट प्रभावित र आजित दुवै छन् ।

नेपालमा २०७२ सालमा संविधान जारी भएसँगै छिमेकी मुलुक भारतसँग चिसिएको सम्बन्धका कारण अघोषित नाकाबन्दी लाग्यो । भारतसँगको असन्तुलित सम्बन्ध सुधार गर्न नसकेर तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले विश्वासको मत गुमाउन पुगे ।

कोइरालालाई सत्ताबाट पाखा लगाउँदै ओली सत्तामा पुगेका थिए । भारतीय पक्षको आर्थिक नाकाबन्दी सामना गरेको जस उनलाई जान्छ ।
त्यस्तै भारतीय सेना रहेको नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको चुचे नक्सा जारी गर्ने काम ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा भएको थियो । त्यसको जस पनि ओलीलाई नै जाने गरेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका लागि ओलीलाई कतिपयले राजनेता नै मान्ने गरेका छन् भने कतिपयले उनका कुरालाई उडाउने समेत गरेका छन् । वृद्ध भत्ता रकम वृद्धि र स्वास्थ्य विमा कार्यक्रम सञ्चालनका लागि भने ओलीको प्रसंशा नै हुने गरेको छ ।

ओली घरघरमा ग्यास पाइप, चुचे रेल, पानीजहाज ल्याउने भाषणले चर्चित र आलोचित दुवै बने भने जन्म दिनमा नेपालको नक्सा अंकित केक काटेको प्रकरणले उनी सर्वाधिक आलोचित बने । त्यस्तै २ वर्ष लामो कोरोना संक्रमण र स्वास्थ्य संकटको अवस्थामा चर्चामा आएको ओम्नी काण्ड, सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाहिरिएको ७० करोड काण्ड, यति काण्ड, बतास काण्ड हुँदै झापाको गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा समेत ओलीका मन्त्रीहरुको संलग्नतासँगै उनी मुछिन पुगे ।

उनीमाथि प्रधानमन्त्री हुँदाका बखत अधिकतम राजकीय र संवैधानिक अख्तियारी प्रयोग गर्न खोजेको आरोप छ । त्यस्तै आसेपासे र निकटस्थ मन्त्रीहरुका कमिसन र भ्रष्टाचारमा आँखा चिम्लिएको आरोप पनि छ । बजेट आफ्नो क्षेत्रमा मात्रै केन्द्रित गरेर अनुत्पादक क्षेत्र (भ्यू टावर निर्माण, औद्योगिक क्षेत्रका नाउँमा जग्गा खरिदलगायत)मा खर्च गरेको प्रतिपक्षी दलका नेताहरुले आरोप लगाउने गरेका छन् ।
उनकै निर्वाचन क्षेत्रअन्तर्गत झापाको कमल ५ मा पर्ने आदिवासी रंगशालाको नाम फेरेर मदन भण्डारी राखेको भन्दै ओलीमाथि आदिवासी जनजातिको पहिचान विरोधी भएको समेत आरोप छ ।

नेपालीलाई सुतेर बसे पनि सरकारले पाल्छ, हाँछ्यु गरेर कोरोना भगाइदिने जस्ता उडन्ते बोलीले उनी हाँस्यविनोद पात्रका रूपमा समेत परिचित छन् ।

भावी प्रधानमन्त्रीमा उनै ओलीलाई अगाडि सारेर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि एमालेले २० ग्यारेन्टी र ४ संकल्पसहित ’मिसन १५०’ को चुनावी अभियान अघि सारेको थियो ।

तर, हाल देशैभरबाट प्राप्त भैरहेका मतपरिणामहरुलाई प्रारम्भिक सर्वेक्षण गर्दा नै ओली र एमाले दावी गरेको बहुमतको सरकार बन्ने सम्भावना टर्दै गएको देखिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु