adv

जसपाले पठायो संघीय मञ्चलाई एकता प्रस्ताव

अध्यक्ष लिङ्देन सकारात्मक नभएको मञ्चकै नेताको आरोप

२३ माघ, दमक ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले हिजो आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो ।

जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्रचार गर्दै ओपचारिक आह्वान गरेका हुन् ।

नीति, सिद्धान्त र विचार मिल्ने दलहरुसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुष १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो ।

पार्टी एकताको सान्दर्भिकता बारे प्रकाश पार्दै पत्रका भनिएको छ –यस्तो एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डाहरु स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोहोर्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी÷दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकारहरु सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ ।

देशका परिवर्तनकारी राजनीतिक शक्तिहरुसामु आफ्ना माग र मुद्दाहरुलाई जनतासामु स्थापित गर्न चुनौतिहरु थपिएका जसपाले पत्रमार्फत आँकलन गरिएको छ । त्यस्ता चुनौतिहरुलाई सामना गर्न सही बाटो र सुदृढ संगठनको आवश्यकता भएको उल्लेख गर्दै पार्टी एकताको वैचारिक आधार पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने भनेको छ ।

जसपाले श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोबिन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

जसपाको प्रस्ताव बारे प्रतिक्रिया दिँदै संलोरामका महासचिव अशोक चेम्जोङले पहिचान पक्षधर शक्तिहरुबीच ध्रुवीकरण र एकता आवश्यक रहेको बताएका छन् । उनले पार्टीभित्र विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरुबीच वृहत् एकता गर्नुपर्ने मत बढेर गएको जिकर गरेका छन् ।
तथापि संलोरामका नेता कार्यकर्ताहरुबीच सामाजिक सञ्जालहरुमै आपसी मतभेद छताछुल्ल भएको छ ।

अध्यक्ष लिङ्देन पक्षले प्रवास समितिका नेता र केही जिल्लाका अध्यक्षहरुलाई पार्टीबाट निष्कासन गरेको विज्ञप्ति जारी गरेपछि त्यसको प्रतिक्रियामा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै कारबाही फुकुवा गरेका छन् ।

यस घटना बारे हरप्रहर न्यूजले महासचिव चेम्जोङसँग वास्तविकता के हो ? भनेर प्रश्न गर्दा उनले भने –‘पार्टीको आधिकारिक बैठक नै नबसी गरिएको कारबाहीको सान्दर्भिकता नहुने भएकाले कारबाही फुकुवा गरिएको हो । पार्टीभित्र बृहत् एकता गर्दै शक्ति निर्माण गरेर जानु पर्दछ भन्ने पक्षमा हामी प्रष्ट छौं ।’

जसपाको पत्र नै आफ्नो फेसबुकमा सेयर गर्दै चेम्जोङले लेखेका छन् –‘हुन त जसपाबाट बारबार एकता प्रस्ताव आएकै हो । अध्यक्ष र म स्वयम् निर्वाचन अघि पनि राष्ट्रिय राजनीति र लिम्बुवान आन्दोलन कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषय र एकता बारे जसपा शीर्ष नेताहरुसँग छलफल गर्यौं तर हाम्रो पक्षबाटै छलफल अघि बढ्न सकेन ।’

यसअघि पनि संलोरामलाई राष्ट्रिय जनमुक्ति पार्टीले एकताको निम्ति औपचारिक पत्राचार गरेको थियो । दुई पक्षबीच केही चरणमा वार्ता भए पनि अध्यक्ष लिङ्देन पार्टी एकताका लागि तयार नभएको उनकै पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

पछिल्लो विषयमा प्रतिक्रिया दिँदै संलोरामका प्रचार विभाग प्रमुख दिलकुमार लावतीले विचार, सिद्धान्तर मुद्दा मिल्ने शक्तिहरुसँग एकता गर्न अध्यक्ष लिङ्देन तयार नभएकै कारण पार्टी क्रमशः कम्जोर बन्दै गएको आरोप लगाएका छन् ।

उनले भने –‘एकतालागि विभिन्न शक्तिहरुसँग थुप्रै चरणमा वार्ता र प्रयासहरु भए पनि अध्यक्षकै कारण सकारात्मक बन्न सकेन । तर, अहिलेको स्थिति त्यस्तो छैन । पार्टीभित्र दुईतिहाई भन्दा बढी नेताहरु ठोस एकता र रूपान्तरणको पक्षमा उभिनु भएको छ ।’

यसअघि केही चरण जसपाले पनि जनमुक्तिसँग वार्ता गरिसकेको छ । तर, ठोस उपलब्धि भने प्राप्त नभएको जनमुक्ति पक्षले जानकारी दिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु