
माङसेबुङ । माङसेबुङ गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम अन्तर्गतको दाल बालिका कृषकहरुलाई आज मंगलबार प्रोत्साहन रकम प्रदान गरेको छ । १०० केजि भन्दा बढि पहेली दाल फलाउने कृषकहरुलाई प्रतिकेजि २० रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. १, ३, ५ र ६ नम्बरका कृषकहरुले दाल बालिमा प्रोत्साहन रकमका लागि दिएको निवेदनमा ७१ जना कृषकहरुको मापडण्ड पुगेको थियो । ७१ जना कृषककोमा नापतौल गर्दा २८ हजार चार सय २८ केजिको प्रतिकेजि २० रुपैयाँका दरले जम्मा पाँच लाख ६८ हजार पाँच सय ६० रुपैयाँ वितरण गरिएको आर्थिक विकास समितिका संयोजक तथा गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङले) जानकारी दिए ।
गाउँपालिकाले आगामि दिनमा दाल बालिलाई अझ व्यवस्थित र व्यवासायीक बनाउनका लागि पकेट, ब्लक, जोन हुँदै सुपरजोनको रुपमा विकास गरेर लगिने पालिका अध्यक्ष हेमन्त राईले बताए । कृषि तथा पशु विकास क्षेत्रमा कृषि प्रोत्साहन कार्यक्रमसँगै उन्नत जातको गाईको बाछि कृषकहरुलाई वितरण गर्ने, पालिका भरी एक घर एक एभोकार्डो बिरुवा वितरण लगायतका कार्यक्रमहरुको समेत पालिकाले तयार गरिरहेको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष राईले बताए ।
माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को बालदिप आधारभुत विद्यालयमा र माङसेबुङ गाउँपालिका वडा नम्बर ५को वडाकार्यालयमा गरि दुई स्थानमा रकम वितरण कार्यक्रम सम्पन्न गरेका थिए । वडा नम्बर ३ मा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष जनम खम्बुको सभाध्यक्ष रहेको थियो भने वडा नम्बर ५ मा वडा भएको कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र कुमार राईको सभाध्यक्ष रहेको थियो भने कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
गाउँपालिकाले दाल, दूध, केरा, मालबाँस, स्कूस र कफिमा प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरेको छ । १०० केजि भन्दा बढि दालमा प्रतिकेजि २० रुपैयाँ, दैनिक २० लिटर भन्दा माथि दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर २ रुपैयाँ (दैनिक), ५० झ्याङ भन्दा माथि केरामा प्रतिझ्याङ १०० रुपैयाँ, २५ झ्याङ भन्दा माथि मालबाँसमा प्रतिझ्याङ १०० रुपैयाँ प्रतिझ्याङ, २० झ्याङ भन्दा माथि स्कूसमा प्रतिझ्याङ १००० रुपैयाँ प्रतिझ्याङ र कफिमा प्रतिकेजि २० रुपैयाँ प्रदान गर्ने कार्यक्रम ल्याएको छ ।
कृषकहरुलाई व्यवसायीक बनाउन ल्याईएको प्रोत्साहन कार्यक्रमलाई व्यवस्थित गर्नका लागि कृषि प्रोत्साहन कार्यक्रम कार्यविधि २०७९ पारित गरि कार्यक्रमलाई व्यवस्थित गरिएको छ ।



