८ फागुन, काठमाडौं ।
नेवार पत्रकारहरुको साझा संस्था नेवा: पत्रकार राष्ट्रिय दबुले नेपाल टेलिभिजनबाट नेपाल भाषामा समाचार प्रसारण गर्नुपर्ने मागगरेको छ ।
सोमबार दबुले सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर सो विषयमा ज्ञापन पत्र बुझाएको हो ।
नेवा: पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री शर्मालाई भेटेर ज्ञापन पत्र बुझाएको थियो ।
त्यसैगरी सोमबार नै सोही विषयमा ध्यानाकर्षण गराउन श्रेष्ठ नेतृत्वको टोलीले नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललाईसमेत ज्ञापन पत्र बुझाएको हो ।
नेवा: पत्रकार राष्ट्रिय दबु नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संस्थागत सदस्य संस्था मध्ये एक हो ।
नेपाल टेलिभिजनले यस अघि तामाङ भाषाको समाचार प्रसारण गरिसकेको छ भने नेपाल टेलिभिजनकै इटहरी च्यानलले लिम्बू भाषाको समाचार प्रसारण थालिसकेको छ ।



