adv

भद्रपुर झापा गोल्डकप: त्रिभुवन आर्मी फाइनल प्रवेश

१३ फागुन,भद्रपुर । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।

थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई आर्मीले १–० ले पराजित गरेको थियो ।

आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि–किकलाई उनले जाली चुमाए ।

जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ ।

दर्शकले खचाखच खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए । दुवै टोलीले गोल गर्ने अवसरहरु गुमाएका थिए ।

खेलको ८८ औँ मिनेटमा आर्मीका रिपु भुलानको पासमा प्रज्ज्वल गुरुङले हेडमार्फत गोल गरे । गोल भएपछि खेलाडीहरु खुसी मनाउन थाले ।

तर, अफसाइडका कारण गोल दिइएन । त्यही बेला संकटाका मनिष डाँगीले बललाई अगाडि बढाउँदै गरेको प्रहार पोस्ट नजिकबाटै बाहिरियो । डाँगीलाई डिबक्सबाहिर आर्मीका जितेन्द्र कार्कीले लडाए ।

शनिबारको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु