adv

दमकमा ’कदम कविता कन्सर्ट’ सुम्वादो सम्पन्न

१४ फागुन, दमक ।


दमकस्थित कदम थिएटरको आयोजनामा ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कदम कविता कन्सर्टको विशेष श्रृंखलाको रूपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका गरी ९ जना कविहरु सहभागी थिए । कार्यक्रममा नेपालका ४ जना, भारतका ४ जना र प्रवासबाट एक जना गरेर जम्मा ९ जना कविहरुले आ–आफ्नो कविता वाचन गरे ।

कार्यक्रममा नेपालबाट किरण शिवा, दीपा दाहाल, रोशन परियार र सन्जित फलाना सहभागी थिए भने भारतबाट आशिष लिम्बू, राकेश क्रान्तिकारी, विशाल नाल्बो र स्मिता सोताङ राई सहभागी थिए ।

त्यस्तै प्रवासबाट इतर कविता अभियान गरिरहेका कवि पराजित पोमुको सहभागिता थियो । सहभागी प्रत्येक कविले आफ्ना तीनतीनवटा कविता वाचन गरे ।

कार्यक्रममा कविद्वय प्रकाश बुढाथोकी र धर्मेन्द्र विक्रम नेम्बाङ उपस्थित थिए ।

लिम्बू भाषिक शब्दावली र अर्थमा सुम्वादोको अर्थ तीन खोलाको संगम अर्थात त्रिवेणी हुन्छ । त्यहि शाब्दिक अर्थको प्रारूपमा भारत, नेपाल र प्रवासका कविहरुले कदम थिएटर पाङवाईला हिम् को मञ्चमा कविता वाचन गराइएको हो ।

तीन फरक अनुभव र भूगोलका कविहरुले कविता वाचन गर्ने कार्यक्रम रहेकोले यसको शीर्षक सुम्वादो राखिएको हो ।

दमक नगरपालिकाको वडा नं ९ स्थित निर्माणाधिन कदम थिएटरको ‘पाङ्वा इला हिम्’ कक्षमा आयोजित कार्यक्रममा बोल्दै कवि धर्मेन्द्र नेम्बाङले भने –‘राजधानी काठमाडौंमा पनि आजसम्म नगरिएको साहित्यिक अभ्यास दमकले गरेको छ ।’

कवि प्रकाश बुढाथोकीले यस कार्यक्रमले नेपाल–भारत साहित्य सम्बन्धलाई पुनर्जीवन दिएको जिकिर गर्दै भने –‘हिजो आइबी राई, प्रकाश कोविदहरुले नेपालसित जोडेको साहित्यिक सम्बन्धको सेतुको आज पुनर्निर्माण भएको छ ।’

आयोजकका तर्फबाट कदम थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले सहभागी कविहरुलाई सम्मानपत्र हस्तान्तरण गरे भने कार्यक्रम सञ्चालन नाट्य निर्देशक एवम् लेखक सिजन दाहालले गरेका थिए ।

कदम थिएटरको आयोजनामा सम्पन्न ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रमका लागि बलिन्द्र योङहाङ, अमित याक्थुङ्बा र उत्तम खजुमले कार्यक्रमको लागि आर्थिक सहयोग गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु