adv

कोशी प्रदेश घोषणा, बिहीबार सार्वजनिक बिदा

१८ फागुन, दमक ।


पहिलो प्रदेश सभाको ५ वर्षे अवधि नामाकरण गर्न नसकेरै समाप्त गरेको प्रदेश नम्बर १ को बुभबारको प्रदेश सभा बैठकले भने बेनामे प्रदेशलाई ‘कोशी प्रदेश’ नाम दिन सफल भएको छ । यद्यपि यो नाममा प्रदेशका राजनीतिक, सामाजिक क्षेत्र र पहिचान पक्षधर मानिसहरु सहमत छैनन् ।

बुधबारको प्रदेश सभा बैठकमा नेकपा एमालेका रामबहादुर मगर (राम राना)ले प्रस्ताव गरेको कोशी प्रदेशमा कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेकै निरन राई र बिदुर लिंथेपले समर्थन गरेका थिए । तर, राजवंशीले केही समय नबित्दै आफ्नो समर्थन फिर्ता लिएका थिए ।

कोशी प्रदेशको बिकल्पमा बहुपहिचानयुक्त किरात लिम्बुवान सगरमाथा प्रदेश नामाकरणको प्रस्ताव नेकपा एकीकृत समाजवादी (एस)का प्रदेश सदस्य एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पेश गरेका थिए, जसको समर्थन जसपाकी सभा सदस्य निर्मला लिम्बू र नेकपा (एस)कै कमलप्रसाद जबेगूले गरेका थिए ।

तर, प्रदेश सभा बैठकको बहुमतले यस प्रस्तावलाई छलफलमै लान नमिल्ने गरी असफल पारिदियो भने कोशी प्रदेश नामाकरणको प्रस्ताव मात्रै सदनको छलफलको विषय बनेको थियो ।

९३ जना सदस्य रहेको प्रदेश सभाको बुधबारको बैठकमा ८७ जना सांसद सहभागी थिए । ती मध्ये सत्तारुट एमाले, माओवादी केन्द्र, राप्रपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका गरी ८२ जना सदस्यले कोशी प्रदेशको पक्षमा मतदान गरे भने नेकपा (एस) का ४ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

कोशी प्रदेशको विकल्पमा भन्दै किरात लिम्बुवान सगरमाथा प्रदेशको प्रस्तावलाई समर्थन गरेकी जसपा सभा सदस्य लिम्बूले भने मतदान प्रक्रियामा भाग लिइनन् । आफू बाथरुम गएर आउँदै गर्दा मतदान प्रक्रियामा सहभागी हुन नदिएको लिम्बूले जिकिर गरेकी छन् ।

बुधबार दिउँसो सभाभित्र जति जति प्रदेश नामाकरणको सवाल घनिभूत हुँदै जाँदै थियो, बाहिर किरात लिम्बुवान नामाकरण गर ! भन्दै नाराबाजी गर्नेको संख्या पनि बढि नै रहेको थियो ।

जिल्ला प्रशासन कार्यलय मोरङले प्रदेश सभाभित्र प्रदेश नामाकरणको छलफल चलिरहेको विषयलाई ध्यानमा राखेर सुरक्षा तयारी चुस्त राखेको थियो । उसले सम्भावित दुर्घटना हुन नदिन निषेधाज्ञ समेत जारी गरेको थियो ।

बुधबार साँझ पहिचान र संघीयताको मर्म र भावना विपरित प्रदेशको नाम कोशी राखिएको विरोधमा बिराटनगर, इटहरी, धरान, दमक लगायत केही स्थानहरुमा छिटफुट विरोध प्रर्दशनका घटनाहरु भएका सुरक्षा स्रोतले दावी गरेको छ । तर, प्रदर्शनका दौरान कुनै अप्रिय घटना नभएको बताइएको छ ।

यसैबीच प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

प्रदेश सभाले कोशी प्रदेश नामाकरण गरेको खुशीयालीमा प्रदेश सरकारले आफ्नो प्रदेशभर लागू हुनेगरी बिदा घोषणा गरेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु