कमन देवान
१९ फागुन, दमक ।

प्रदेश सभाको बुधबारको बैठकले प्रदेश नम्बर १ को नामाकरण कोशी प्रदेश गरेपछि त्यसको विरोधमा सुरु भएको आन्दोलन सशक्त बन्दै गएको छ ।
कोशी प्रदेश खारेज गर्न पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गर्दै बुधबारदेखि सुरु भएको आन्दोलन शुक्रबार थप सशक्त र उग्र बन्दै गएको हो ।
बिहीबार कोशी प्रदेश लेखेर प्रदेशका विभिन्न ठाउँहरुमा जलाएका आन्दोलनकारीले शुक्रबार प्रदेश राजधानी बिराटनगरमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश सभामुख बाबुराम गौतमको पुत्ला दहन गरे ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिलगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले बुधबारदेखि नै कोशी प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
प्रदेश नामाकरणको विषयमा सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरिएको, संसद्मा सुटुक्क विषय प्रवेश गराइएको उनीहरुको आरोप छ ।
शुक्रबारको प्रदर्शनमा सहभागी किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले पुत्ला दहन कार्यलाई आन्दोलनको ‘डेमो’ मात्रै भएको बताएका छन् । वास्तविक आन्दोलन आगामी दिनमा सुरु हुने जिकिर गर्दै उनले लिम्बुवान किरात आन्दोलन प्रदेशभरका वडा वडामा पुर्याइने बताए ।
‘अर्को आन्दोलन र विद्रोहको सुरुवात हुन नदिन कोशी प्रदेश तुरुन्त खोरेज गरौं’, एक्तेनले भने ।
जनता समाजवादी पार्टी नेपाल (जसपा), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीका नेता कार्यकर्ता कोशी प्रदेश विरुद्ध सुरु भएको आन्दोलनमा बाक्लै गरी उपस्थित छन् भने नेकपा माओवादी केन्द्र, एमाले र कांग्रेस समर्थक आदिवासी जनजाति नेताहरुले विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएका छन् ।
जसपाले प्रदेश १ को नाम किरात लिम्बुवान शेर्पालुङ प्रदेश राख्न माग गरेको छ । प्रदेश सभामा समेत उपस्थित रहेको जसपाकी सदस्य एवम् प्रदेश स्वास्थ्यमन्त्री निर्मला लिम्बूले बुधबारको बैठकमा किरात लिम्बुवान सगरमाथा प्रदेश राख्नु पर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद राईको प्रस्तावमा समर्थन जनाएकी थिइन् । पहिचान पक्षधरको प्रस्ताव छलफलमै पेश नहुने भएपछि उनले सदनमा रुँदै सम्बोधन गरिन् ।
पहिचानलाई पाखा लगाएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समितिले कोशी प्रदेश खारेजीको माग गरेका छन् । त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ ले कोशी प्रदेशमा कदापि सहमति हुन नसकिने भन्दै प्रदेशको नामाकरण लिम्बुवान किरात राख्न विज्ञप्तिमार्फत माग गरेको छ ।
आन्दोलनकारीको संख्या प्रदेश राजधानी बिराटनगरमा बढ्न थालेपछि सुरक्षाका दृष्टिले सुरक्षाकर्मीको संख्या बढाउन थालिएको सुरक्षा स्रोतले जनाएको छ ।
पहिचान पक्षधरहरुको स्वाभाविक आक्रोशलाई मत्थर हुन दिन बल प्रयोग नगर्ने तर कुनै अप्रिय घटना हुन नदिन सुरक्षा स्थिति मजबुद पार्दै लगिएको स्रोतको भनाइ छ ।
बुधबार प्रदेश सभाको बैठकमा प्रदेश नामाकरणको लागि मतदान भएको थियो । जसमा कोशी प्रदेशको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत खसेको थियो ।
प्रदेश सभामा सभामुखसहित ९३ जना सदस्य छन् ।


