२१ फागुन, दमक ।

शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने ९ दलीय गठबन्धनले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, सहितका ९ दलका नेताहरुको आइतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्नेमा जोड दिएको बताइएको छ ।
संक्रमणकालीन न्यायका बारेमा पछिल्लो समय उठेका धारणाबारे ध्यानाकर्षण भएको भन्दै ९ दलले विज्ञप्ति जारी गरेर भनेको छ –‘द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनबाट पूरा गरिने छ ।’
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा र संसदमा छुट्टै अस्तित्व नरहेको डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले समेत भाग लिएको थियो । बैठकपछि जारी विज्ञप्तिमा सबै दलका शीर्ष नेताहरुको हस्ताक्षर छ ।
हेर्नुहोस् ९ दलले जारी गरेको विज्ञप्ति :


