२३ फागुन, दमक ।
८ दलले आफ्ना संघीय सांसद र प्रदेश सभा सदस्यहरूलाई प्रीशक्षण दिने भएका छन् ।
फागुन २५ गते सम्पन्न हुने राष्ट्रिपति निर्वाचनमा सही तरिकाले मतदान गर्न सिकाउने भन्दै ८ दलले आ–आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेका हुन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा मंगलबार बसेको ८ दलले गठन गरेको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनको मौन अवधिमा सही गरिकाले मतदान गर्नेलगायत विषयमा प्रशिक्षण दिन लागिएको जनाएको छ ।
बैठकमा सहभागी कार्यदल सदस्य एवम् जसपाका नेता राजेन्द्र श्रेष्ठले भने –‘सबै मतदातालाई प्रशिक्षित गर्ने कुरा भएको छ । मौन अवधि रहेकोले आ–आफ्नो पार्टीभित्र सांसदहरूलाई राष्ट्रपति चुनावमा कसरी मतदान गर्नेलगायतबारे जानकारी गराइन्छ ।’
कार्यदलको बैठकले संघीय सांसदहरु र प्रदेश सभा सदस्यहरुलाई बुधबार बिहान ११ बजेसम्ममा काठमाडौं पुगिसक्नुपर्ने निर्देशन दिने निर्णय गरेको बताइएको छ ।
कार्यदलका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन तयारीबारे आजको बैठकमा छलफल गरिएको जानकारी दिएका छन् ।
यस अघि ८ दलले फागुन २४ गते काठमाडौंमा सांसदहरूलाई संयुक्त प्रशिक्षण दिने निर्णय स्थागित गरिएको खड्काले बताए ।
फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । ८ दलबाट कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन् ।
राष्ट्रपति चुनावमा राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् ।


