आमहड्तालसम्मका कार्यक्रम सार्वजनिक
कमन देवान
२५ फागुन, दमक ।
प्रदेशको नाम कोशी खारेज गर्न आन्दोलनरत संघर्ष समितिले प्रदेश आम हड्तालसहितको दोस्रो चरणको आन्दोलन घोषणा गरेकोछ ।
यस अघि आ–आफ्नै निर्णयमा आन्दोलनरत लिम्बुवान, किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नम्बर को १ पुनःनामाकरण अभियान समिति र किरात राई यायोक्खाले एकीकृत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।
बुधबार बसेको संयुक्त बैठकले तीन वटै समितिले संयुक्त नाम प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति राख्ने समेत निर्णयगरेको हो ।
नेपाल आदिबासी जनजाती महासङ्घ र थप विभिन्न नयाँ घटक सदस्यहरुसमेतसँग संयुक्त बैठक बसेर संयुक्त संघर्षका कार्यक्रमसार्वजनिक गरिएको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले जानकारी दिए ।
संयुक्त संघर्ष समितिले आज र भोलि प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने, स्थानीय तह लगायतका कार्यालयहरुमातालाबन्दी गर्ने जनाएको छ ।
आन्दोलनका क्रममा संघर्ष समितिले कोशी नामका बोर्डहरु हटाउने र कोशी नामका लेटरप्याडहरु जलाउने निर्णय गरेको जनाएको छ ।

कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्नेदेखि वडा तहसम्म संघर्ष समिति विस्तार गर्ने, पर्चा निर्माण र वितरण, भित्तेलेखन गर्ने कार्यक्रम तय गरेको समितिले जनाएको छ ।
संघर्षका कार्यक्रम अन्तर्गत फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने निर्णय गरेको समितिले फागुन २८ प्रदेशव्यापी आम हडतालगर्ने जनाएको हो।
दोस्रो चरणको अन्तिम कायक्रमको रूपमा संघर्ष समितिले चैत ५ गते प्रदेश राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने जनाएकोछ ।
यस अघि नै इलामको माङसेबुङ गाउँपालिकाका वडा नम्बर ५ र ३ को सेवा केन्द्रमा आन्दोलनकारीले तालाबन्दी गरिसकेका छन ।


