२ चैत, काठमाडौं ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको प्रारम्भिक मस्यौदा तयार गरी पार्टी मातहतका समितिहरुमा छलफलका लागि पठाएको छ ।
विधान मस्यौदा समितिको फागुन ३० गते बसेको बैठकले विधानको मस्यौदा समूहगत छलफलसहित आवश्यक सुझावका लागि मातहतका समितिमा पठाइएको हो ।
मस्यौदा बारे अध्ययन गरी पार्टीका केन्द्रीय कार्य कारिणी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समन्वय समिति र गापा÷नपा समिति र जनवर्गीय संगठनहरुलाई लिखित सुझाव उपलब्ध गराउन निर्देशन गरिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवबाट सोमबार जारी निर्देशनमा विधान मस्यौदा बारे आउँदो चैत १५ गतेभित्र लिखित सुझाव पेश गर्न भनिएको छ ।
त्यस्तै जसपाले सातै प्रदेशमा प्रदेशस्तरीय अन्तरक्रिया गरेर सुझाव संकलन गर्ने भएको छ । उसले यस कार्यका लागि प्रदेशस्तरीय जिम्मेवारी समेत तोकेको निर्देशनमा उल्लेख छ ।
कोशी प्रदेशमा केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउत, लुम्बिनी प्रदेशमा राजनीतिक समिति सदस्य भगवती सुवेदी, गण्डकी प्रदेशमा केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापामगर, बागमती प्रदेशमा राजनीतिक समिति सदस्य पञ्चलाल महर्जन, कर्णाली प्रदेशमा मस्यौदा समिति सदस्य एवम् अधिवक्ता दिपक राई र सुदुरपश्चिम प्रदेशमा मस्यौदा समिति सदस्य एवम् अधिवक्ता दिपेन्द्र कुमार झालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै जनवगीय संगठनहरुको अन्तरक्रिया कार्यक्रमका लागि केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला राईलाई जिम्मेवारी दिइएको जारी निर्देशनमा उल्लेख छ ।
जसपाले लिखित सुझाव सोझै पार्टी केन्द्रीय कार्यालयको इमेल ठेगाना [email protected] समेत पठाउन सकिने जनाएको छ ।
जसपाको विधान मस्यौदा समितिको संयोजक पार्टी अध्यक्ष उपेन्द्र यादव आफै छन् ।
जसपाले आफ्नो विधान अधिवेशन आगामी चैत २७, २८ र २९ गते आयोजना गर्ने राजनीतिक समितिको बैठकबाट निर्णय गरेको थियो ।