६ चैत, दमक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्।
सोमबार प्रधानमन्त्री दाहालले आफूलाई सांसदहरुको विश्वास छ भनेर प्रतिनिधि सभामा राखेको प्रस्ताव उपर मतदान हुँदा पक्षमा १७२ सांसदको समर्थन पाएका हुन ।
दाहाललाई विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा एमालेसहितका सांसदहरुको ८९ मत परेको थियो ।
सोमबार संसदमा भएको मतदानमा २६२ सांसद सहभागी थिए। तीमध्ये १ जना तटस्थ रहे ।
यसअघि गत पुस २६ मा प्रधानमन्त्री दाहालले संसदबाट २६८ मत पाएका थिए ।
राष्ट्रपति निर्वाचनलाई लिएर दोस्रो ठूलो दल एमाले सहित रास्वपा र राप्रपाले दाहाल नेतृत्वको सरकार छोडेपछि उनले पुन: विश्वासको मत लिनु परेको हो ।
सरकारलाई छिट्टै पूर्णता : दाहाल
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ ले दुईचार दिनभित्रै सरकारलाई पूर्णता दिने दावी गरेका छन्।
आफू नेतृत्वको सरकारले विश्वासको मत पाइएको भन्दै दाहालले भोलि मंगलबारबाटै सरकारलाई समर्थन दिएका सबै दलहरूसँगछलफल गरेर मन्त्रीहरुको टुङ्गो लगाउने बताएका हुन ।
संसदबाट पर्याप्त मत पाएको भन्दै उनले अब विकास निर्माण कार्यले गति लिने भनेका छन् ।
दाहालले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने खुलासा गरेका छन् ।


