adv

सकियो माङमालुङ महोत्सव

कमन देवान

३ बैशाख, दमक ।

इलामको माङसेबुङ गाउँपालिकास्थित धार्मिक र पर्यावरणीय दृष्टिले प्रसिद्ध माङमालुङमा आयोजित माङमालुङ कृषि तथा पर्यटन महोत्सव २०८० सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगमस्थलमा अवस्थित माङमालुङमा ‘कृषिमा आधुनीकीकरण, स्थानीय पर्यटन प्रवद्र्धन आयोजित २ दिने महोत्सव विभिन्न कार्यक्रम गरी शनिबार सम्पन्न भएको हो ।

महोत्सवको पहिलो दिन शुक्रबार महोत्सव उद्घाटन कार्यक्रमसहित विभिन्न जातिको संस्कृतिक पहिचान झल्किने नाचहरुको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा लिम्बू जातिको सांस्कृतिक नृत्य च्याब्रुङ (केलाङ) र राई जातिको साकेला सिली प्रदर्शनी भएको थियो ।

माङमालुङ कृषि तथा पर्यटन महोत्सव २०८० मूल आयोजक समितिका अध्यक्ष किरणकुमार राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनाल, पाँचथर मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्मा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव मिलन लिम्बूले महोत्सव सफलताको शुभकामनासहित माङमालुङको क्षेत्रमा पर्यटन प्रवद्र्धनलगायत समग्र माङसेबुङ गाउँपालिकाको विकासका निम्ति आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महोत्सव आयोजक समितिका सचिव कमल कार्की र जीवन योङहाङको सञ्चालन रहेको उद्घाटनसत्रमा माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङले स्वागत गरेका थिए ।

चर्चित कलाकारहरुबाट सांस्कृतिक मनोरञ्जन

२ दिनसम्म चलेको सो महोत्सवमा चर्चित गायिका मेलिना राई, संगीतकार तथा गायक ताराप्रकाश लिम्बू, भ्वाइस अफ नेपाल किड्स फाइनलिष्ट द्वय रुक्साना लिम्बू नुमा राई, कल्पना बानु राईलगायत अन्य दर्जनौं कलाकारहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए ।

महोत्सवमा गाउँपालिकाभित्र पाइने विभिन्न कृषिजन्य उत्पादनहरुको प्रदर्शन र विक्री वितरण गरिएको थियो । पवित्र धार्मिकस्थलका रूपमा चिनेने माङमालुङ क्षेत्रभित्र मदिरा, मंस र धुम्रपान निषेध गरिएको थियो ।

महोत्सवमा सहभागी अतिथि र सञ्चारकर्मीहरुलाई माङमालुङ क्षेत्रका प्रकृतिक सम्पदाहरुको अवलोकन गराईएको थियो ।

माङमालुङमा रहेकको एक औंलाले हल्लिने ढुङ्गा, हरीयाली चियाबारी, थालाचेप्पा (बिजुवानी ढुङ्गा), सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसँगै शिला पत्थरमा कुँदिएका विभिन्न पशुपंक्षी र देवीदेवताका आकृतिहरुको अवलोकन गराइएको थियो ।

गुराँस फुलेर मनोमोहक बनेको माङमालुङ क्षेत्र चाँप, सुनाखरी, धुपीलगायत वनस्पतिका कारण जति प्रख्यात छ, त्यति नै जडिबुटीजन्य वनस्पतिका कारण महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।

धार्मिक, जैविक एवम् पर्यटकीय महत्व बोकेको माङमालुङ समुद्री सतहबाट २ हजार १ सय मिटरको उचाईमा अवस्थित छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थल पनि हो । यो करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

माङमालुङ इलाम सदरमुकामदेखि करिव १५ कोष उत्तर पश्चिममा अवस्थित छ ।

महोत्सवलाई रौनक थप्न मिनी म्याराथन, सञ्चारकर्मी पनि सहभागी

दोस्रो दिन शनिबार ५ मिलोमिटर दुरीको पुरुष र महिलातर्फ मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । साथै, ३ किलोमिटर दुरीको मिडिया मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो ।

जसमा पुरुषतर्फ १६ देखि ३० वर्ष समूहमा क्रमशः माङसेबुङ २ का दिवस राई पहिलो, सन्तोष लावती दोस्रो र एमसन लिम्बू तेस्रो भए ।

त्यस्तै पुरुषकै ३१ देखि ४५ वर्ष उमेर समूहतर्फ भने माङसेबुङ ६ का जगत राई पहिलो, राजेश राई दोस्रो र अरुण राई तेस्रो भए ।

महिलातर्फ भने माङसेबुङ ६ की सुमी राई पहिलो, माङसेबुङ ५ की नानीफुङमा हाङमा वाजी दोस्रो र माङसेबुङ ६ की कल्पना राई तेस्रो भइन् ।

मिडिया खुलातर्फ झापा दमकका चिरञ्जीबी घिमिरे पहिलो, इलाम फाकफोकथुमका भगिरथ भण्डारी दोस्रो र झापा दमकका कमन देवान तेस्रो भए ।

मिडिया महिलातर्फ इलाम फाकफोकथुमकी भूमिका सुब्बा फियाक पहिलो भइन् ।

विजेताहरुलाई माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ ६ का वडाध्यक्ष प्रदिप साङपाङलगायतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु