२१ बैशाख, काठमाडौं ।
पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले आज बिहीबार पक्राउ गरेको छ ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा रायमाझीलाई प्रहरीलेबिहान भैरहवाबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौं ल्याएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
यसअघि बुधबार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा उनका छोरा सन्दीप रायमाझीलाईप्रहरीले पक्राउ गरेको थियो । त्यसै गरी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका उपराष्ट्रपतिको कार्यालयका सचिवटेकनारायण पाण्डे हिजो नै पक्राउ परेका छन् ।
उनीहरु दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस अघि मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो । थापाका छोरा प्रतीक थापालाई पनि सोही प्रकरणमा प्रहरीले खोजी गरिरहेको जनाएको छ ।


