
३१ बैशाख,बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यही जेठ ६ गते देखि डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने आज बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।
नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको प्रतियोगितामा नगर क्षेत्र भित्रका १७ वटा खेलाडी समूहले सहभागी जनाउन नाम दर्ता गरिसकेको र अझै दर्ता खुला रहेको कार्यक्रम संयोजक वेदप्रकाश अग्रवाल (बिशाल) ले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार एक १ लाख रुपैयाँ र दोश्रो पुरस्कार ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ । खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार, वेस्ट ब्याट्स म्यान र बेष्ट बलरलाई ५ हजार १०० सय रुपैयाँ त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार १०० सय रुपैयाँ पुरस्कार रहेको छ । प्रतियोगितामा हिट बोर्डको व्यवस्था गरि विभिन्न प्रकारको आकर्षक पुरस्कार राखिने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष बिकास गिरीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न १२ लाख ५४ हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । जस मध्ये ७ लाख रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने भएको छ । अन्य खर्चको व्यवस्थापन दाता, प्रायोजकबाट गरिने अध्यक्ष गिरीले बताए ।
उनका अनुसार प्रतियोगिताको फाइनल खेल साँझमा खेलाइनेछ । त्यसका लागि फ्लर्ड लाइटलगायतका आवश्यक व्यवस्थापन मिलाइएको समिति सचिव बिसन लिम्बूले बताए ।
यसैगरी बिर्तामोड निवासी राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय फुटबल खेलाडी निशान खड्का र अभिषेक बराललाई सम्मान गरिने सचिव लिम्बुले जानकारी दिएका दिए ।
जेठ ७ गते समापन हुने प्रतियोगिताको समारोहमा चर्चित व्याण्ड कुटुम्बको प्रस्तुति रहनेछ ।
प्रतियोगिताको हस्पिटालिटी पार्टनरको रुपमा होटल ग्रान्ड प्यासिफिक, स्पोन्सरको रुपमा गरिमा मल्टिपर्पोज प्रालि, ॐ कास्टिङ उद्योग प्रा. लि लगायत रहेका छन् ।

