२ जेठ, दमक ।

झापाको कमल गाउँपालिका वडा नम्बर १ मा निर्माणाधीन भौतिक निर्माण कार्य गुणस्तरीय नभएको भन्दै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले डोजर लगाएर भत्काउन लगाएका छन् ।
कमल वडा नम्बर १ को पुष्पथिर प्रतिष्ठानदेखि झोलुङ्गे हुँदै बासु चोक जोड्ने सडकको दायाँ बायाँ लगाइएको प्लम वाल निर्माणमा निर्माण सामग्री ठीक मात्रामा प्रयोग नगरिएको भन्दै अध्यक्ष राईको निर्देशनमा वाल भत्काइएको हो ।
ढुङ्गा, बालुवा, सिमेन्टको मिश्रण ठिक मात्रामा नगरी गुणस्तरहीन संरचना बनिरहेको खबर पाएपछि सोमबार अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडाध्यक्ष केदार कटुवाल, अनुगमन समिति सदस्य समेत रहेका कमल २ का वडाध्यक्ष अशोक सुब्बासहित राई निर्माणस्थलमै पुगेका थिए ।
अध्यक्ष राईको निर्देशनपछि कमल १ का वडाध्यक्ष कटुवालले डोजर लगाएर पर्खाल भत्काएका हुन् ।
सो सडकको दाँया बाँया पक्की पर्खाल (लाम वाल) निमाणको लागि गाउँपालिकाले संघीय सरकारको तराई मधेस समृद्धि कार्यक्रमम अन्तर्गत चालू आर्थिक बर्षमा प्राप्त ७२ लाख रुपैयाँ बजेटका आधारमा ठेक्का लगाएको थियो । यहि जेठ ३० गते सम्ममा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।
ठेक्का पाएको निर्माण कम्पनी विशाल एण्ड विवेक निर्माण सेवाले तोकिएको मापदण्ड र सम्झौता अनुसार गुणस्तरीय काम नगरेको पाइएपछि वाल भत्काइएको गाउँपालिका स्रोतले जनाएको छ ।

