adv

खाद्य स्वच्छता बारे उपभोक्ताको खबरदारी आवश्यक

१० जेठ, दमक ।


खाद्य स्वच्छता कायम गर्ने बारे उपभोक्ताले खबरदारी गर्नु पर्नेमा झापाको दमकमा आयोजित एक तालिम कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

मंगलबार दमक नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखाले आयोजना गरेको एक कार्यक्रमका सहभागीले खाद्य स्वच्छता कायम गराउने जिम्मेवारी स्थानीय सरकारको भए पनि सबै ठाउँमा सरकारको निगरानी नपुग्ने हुनाले उपभोक्ताले खबरदारी गर्नु पर्नेमा बताएका हुन् ।

कार्यक्रमका सहभागीहरुले खाद्यको विषय मानवीय स्वास्थ्यसँग जोडिएको हुँदा स्वच्छता कायम गर्न सरकारलाई सरोकारवाला र उपभोक्ताले खबरदारीसँगै सहयोग गर्नु पर्ने औँल्याएका थिए ।

होटल र रेष्टुरेन्ट सञ्चालकहरुको लागि खाद्य स्वच्छता सम्वन्धि आयोजित सो तालिममा बोल्दै दमक नगर प्रमुख रामकुमार थापाले खाद्य मिसावट गरेर जनताको स्वास्थ्यमा खेलवाड गर्न नहुनेमा सचेत गराएका थिए । उनले भने –‘जो कोहीले मानिसको स्वास्थ्यमा खेलवाड गरेमा कानुन बमोजिम सजाय हुन्छ ।’

कार्यक्रममा नगर पालिकाको उपप्रमुख तथा अनुगमनको संयोजक रेगिना भटराई प्रसाईले होटल, रेष्टुरेन्ट मानिसको दोस्रो घर भएको हुँदा यहाँ आउने सेवाग्राहीले मिसावट रहित खाद्य वस्तुको प्रयोग गर्न पाउनु पर्ने बताइन् ।

खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाध अनुसन्धान अधिकृत शंकर न्यौपानेले आम नागरिक र पर्यटन प्रवद्र्धनका लागि खाध शुद्धता अति नै जरुरी रहेकोमा जोड दिए । कार्यक्रममा होटल ब्यवसायी महासंघको केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेले बेसार, मसलालगायतका बस्तुको मिसावट रोक्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा केही समय अघि नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखाले दमकमा गरेको अनुगमनको वस्तुस्थिति बारे प्रोजेक्टरमार्फत प्रस्तुत गरी छलफल गरिएको थियो ।

दमक क्षेत्रका होटल तथा रेष्टुरेन्ट व्यवसायी सहभागी सो कार्यक्रममा व्यक्तिगत सरसफाई, भान्साको सरसफाई, खाद्य स्वच्छता, स्तरीय मूल्याङ्कन, खाद्य स्वच्छता समूहको जिम्मेवारी लगायतका विषयमा छलफल भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु