११ असार, दमक ।

इलामको माङ्सेबुङ गाउँपालिकाकाले मातृभाषा प्रवद्र्धनलाई निरन्तरता दिने नीति लिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा माङसेबुङ गाउँपालिकाले मातृभाषा प्रवद्र्धनका लागि मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमलाई निरन्तरता दिएको हो ।
माङसेबुङ गाउँपालिकाको १३ औं गाउँसभामा शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राईले मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।
नीति तथा कार्यक्रममा मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
आउँदो आ.व. २०८०/८१ को लागि माङसेबुङ गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा शिक्षामा एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । जसमा मातृभाषा शिक्षक दरबन्दीका लागि अनुदान कार्यक्रम समेत समावेश गरिएको हो ।
माङसेबुङ ५ मा लिम्बू भाषाको पठनपाठन भइरहेको छ भने वडा नम्बर ६ मा राई बान्तावा भाषाको पठनपाठन भइरहेको छ । तर, अन्य वडाहरुमा भने मातृभाषा प्रवद्र्धनका लागि राहत शिक्षकको प्रवन्ध गरिए पनि पठनपाठन हुन नसकेको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
माङसेबुङ गाउँपालिकाले आउँदो आर्थिक वर्षबाट लागू हुनेगरी लिम्बू भाषालाई गाउँपालिकाको कामकाजी भाषाका रूपमा कार्यान्वयन गर्न ४ लाख बजेट व्यवस्था गरेको प्रवक्ता सुसन राईले जानकारी दिए ।
त्यस्तै लिम्बू भाषा कार्यान्वयनपछि राई बान्तावा भाषालाई पालिकाको कामकाजी भाषाका रूपमा लागू गरिने योजना गरेको प्रवक्ता राईको भनाइ छ ।

