कविता सम्बाहाम्फे
१६ असार, पाँचथर ।

पाँचथर कुम्मायक–४ का किसान मुक्तबहादुर लिम्बूको मुख्य पेशा कृषि हो । तर, ‘मानो खाएर मुरी उब्जाउने’ बेला भने उनी ’फुर्सदिला’ छन् । कारण– खेत जोत्ने हल गोरु लम्पी स्किनले थलिए । मुक्तबहादुले यसपटक मध्य असारसम्म पनि रोपाइँ सुरु गर्न पाएका छैनन् ।
पशुमा लाग्ने रोग लम्पी स्किनका कारण मुक्तबहादुरको धान खेतमा धानका गावा गाढिएको छैन । ‘मानो रोपेर मुरी उब्जाउने बेलामा गोरु थलिएका छन् । गोरु बिरामी भएका कारण हामी किसानको बिजोक छ,’ लिम्बूले भने –’मध्य असारसम्म एक मुठ्ठा बीऊ रोप्न सकेनौं ।’
लम्पी स्किन रोगका कारण हलगोरु बिरामी पर्दा कुम्मायक–४ का अधिकांश किसानले अहिलेसम्म धान रोप्न नसकेको लिम्बू बताउँछन् । जसका कारण उनलाई अब एक वर्ष कसरी परिवार चलाउने भन्ने चिन्ता छ । ‘मेरो त मुख्य पेशा कृषि नै हो । धान रोप्न नपाएपछि एक वर्ष कसरी छाक टार्ने ?’, उनले चिन्तित हुँदै भने ।
लिम्बूका अनुसार लम्पी स्किन रोग लागेर कतिपय गाईवस्तुको मृत्युसमेत भइसकेको छ । यो रोगका कारण गाई वस्तुको तौल घट्ने, उच्च ज्वरो आउने, घाँस तथा खोले नरुच्ने, झोक्राउने, शरीरभरि गिर्खा र गाँठाहरू देखिने, खुट्टा सुन्निने जस्ता समस्या हुन्छ ।
यद्यपि, पछिल्लो समय औषधिको प्रयोगपछि केही रोकथाम भएको स्थानीय अर्का कृषक नयन्द्रप्रसाद लिम्बूले बताए ।
पशुमा देखिने लम्पी स्किन रोग रोकथामका लागि गाउँपालिकाले निःशुल्क औषधि वितरण गरिरहेको कुम्मायक–४ का वडाध्यक्ष फगेन्द्र सम्वाहाम्फे बताउँछन् । उनले गाईवस्तुमा यस्ता लक्षण देखिए वडा कार्यालयमा खबर गर्न पनि आग्रह गरे ।
(सम्बाहाम्फे माङसेबुङ गाउँपालिकाको सहयोगमा दमकमा सम्पन्न पाँच दिने ग्रामीण पत्रकारिता र समाचार लेखन तालिममा सहभागी प्रशिक्षार्थी पत्रकार हुन् ।)

