adv

जग्गा दान गरेको दुई वर्ष बित्यो, तर आँखा अस्पताल बनाउने सुरसार छैन

प्रीति मगर
१८ असार, पाँचथर ।

आँखा अस्पताललाई दिएको जग्गामा निर्माण कार्य सुरु नभएपछि दाताहरुले नै मकै बाली लगाएका छन् । फोटो : प्रीति मगर ।

पाँचथरको मिक्लाजुङ–४ का सन्तकुमार सुनुवार र तिलबहादुर मगरले गाउँमै आँखा अस्पताल बनाउने भने पछि खुशी खुशी अस्पतालका लागि भनेर जग्गा दान गरे । अस्पतालका लागि भनेर उनीहरुले पाँच रोपनी जग्गा दान गरेको पनि दुई वर्ष बित्यो । तर, आफूहरुले दान गरेको जग्गामा आँखा अस्पताल अझै बनेन ।

आफ्नै घर आँगनमा आँखा अस्पताल सञ्चालन हुने भएपछि उत्साहित भएर सुनुवारले चार र मगरले एक रोपनी जग्गा दिएका थिए । तर, जग्गा दिएको दुई वर्षसम्म अस्पताल निर्माणको सुरसार नहुँदा स्थानीय निरास छन् ।

आँखा उपचारका लागि चार घण्टा यात्रा गरेर झापा नै पुग्नुपर्ने बाध्यताका कारण गाउँमै आँखा अस्पताल स्थापनाका लागि पहल गरिएको जग्गादाता सुनुवारको भनाइ छ । ‘आँखा अस्पतालको भवन निर्माण गर्न दुई वर्षअघि नै जग्गा अस्पतालको नाममा पास गरिदिएका छौँ,’ उनले भने –‘अस्पताल बनेपछि हामीलाई धेरै सहज हुन्छ । अहिले त गाडीमा चार घण्टा यात्रा गरेपछि मात्र आँखा अस्पताल पुगिन्छ ।’

जग्गा दिए पनि अझैसम्म अस्पताल भवन निर्माणको काम सुरु हुन नसक्नु दुःखद् भएको स्थानीय लीलामाया मगरको दुखेसो छ । ‘भवन निर्माणका लागि जमिन दिएको पनि दुई वर्ष बित्यो । तर, भवन निर्माणको सुरसार अझै भएन’, मगरले भनिन् –‘अरू ठाउँमा जग्गा नपाएर विकास हुँदैन । हाम्रो क्षेत्रमा चाहिँ जमिन पाएपछि सरकार त आँखा खोलेरै निदाउँछ । के सरकारका ढिलासुस्ती कै कारण जनता उपचारबाट वञ्चित हुनुपर्ने ?’

मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्माले बजेट अभाव भएका कारण आँखा अस्पताल निर्माणको काम सुरु गर्न नसकिएको जानकारी दिए । आँखा अस्पताल भवन निर्माण र सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग पहल गरिने उपाध्यक्ष शेर्माको भनाइ छ । ‘हामीले पालिकामा बाटो कालोपत्रे र अर्को अस्पताल बनायौँ । तसर्थ बजेट पुगेन’, उनले भने –’हामी प्रदेश र संघसँग पहल गरेर अस्पतालको संरचना निर्माण गर्छौँ ।’

(मगर माङसेबुङ गाउँपालिकाको सहयोगमा दमकमा सम्पन्न पाँच दिने ग्रामीण पत्रकारिता र समाचार लेखन तालिममा सहभागी प्रशिक्षार्थी पत्रकार हुन् ।)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु