२६ असार, बिर्तामोड ।
अग्रज पत्रकार नेत्र पाठकलाई प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले उपचार वापत आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
पत्रकार पाठक प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्षसमेत रहेका पाठकलाई चौतारीले मंगलबार ५१ हजार एक सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोष र पत्रकारहरुबीच संकलित सहयोग रकम पाठकको घरमै पुगेर हस्तान्तरण गरिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिए । चौतारीको टोलीले पत्रकार पाठककी श्रीमती सीता पाठकलाई सहयोग रकम हस्तान्तरण गरेको थियो ।
दम, नमोनिया, प्रोस्टेट क्यान्सरलगायत बिमारका कारण केही दिन अघि पाठक अस्पताल भर्ना भएका थिए । हाल उनी विर्तामोड ४ मेथीबारी टोलस्थित आफ्नै घरमै आराम गरिरहेका छन् ।
प्रेस चौतारी नेपालका पूर्व मेची अञ्चल कमिटी सचिव सुब्रत न्यौपोनको संयोजकत्वमा सहयोग रकम संकलन गरिएको थियो ।
उपचाररक्त पाठकको स्वास्थ्य लाभको कामना गर्न संयोजक न्यौपाने, प्रेस चौतारी झापा अध्यक्ष गदाल, जिल्ला इन्चार्ज सन्तोष आचार्य, पूर्व अध्यक्ष गोपाल काफले, प्रदेश कमिटी सदस्य रमेश तिवारी, जिल्ला उपाध्यक्ष प्रदिप परियार, जिल्ला सह–सचिव तिलक योञ्जनलगायतको टोली उनको घरमै पुगेको थियो ।


