३१ असार, दमक ।

मिटरव्याजीलाई कारबाही गर्ने सम्बन्धमा सरकारले तयार गरेको ऐन आज (आइतबार) संसदमा पेश हुने भएको छ ।
यसअघि सो बिधेयक प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेका कारण प्रतिनिधिसभाको बैठकमा पेश हुन पाएको थिएन ।
आइतबार दिउँसो १ बजेबाट सुरु हुने प्रतिनिधिसभाको बैठकमा अघिल्लो पटक कार्यसूचीबाट हटाइएको मिटरव्याजी बिरुद्धको बिधेयक ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ बैठकको कार्यसूचीमा राखिएको छ ।
कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले राष्ट्रिय सभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने र मन्त्री गुरुङले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै बैठकमा शिक्षा मन्त्री अशोककुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेसमेत कार्यसूचीमा उल्लेख छ ।


