
१४ साउन, दमक । नगरपालिकाको सरकारी क्वार्टरभित्रै युवतीसँग अनैतिक गतिविधिमा संलग्न दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलामाथि आवश्यक छानबिन गरि कारबाही अघि बढाइनु पर्ने दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहाल (दिपेश) ले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत निरौलाले शनिबार नगरपलिका कार्यालयसँगै रहेको सरकारी निवासमा एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उनीमाथि आवश्यक छानबिन गरि कानूनी कारबाही गर्नु पर्ने दमक ८ का वडा अध्यक्ष समेत रहेका प्रवक्ता दाहालले बताएका हुन् ।
‘नगरपालिकाको प्राङ्गणभित्र क्वार्टरमै यो गतिविधि हुनु नगरपालिका नै दुर्गन्धित हुनु हो । अब कानूनी सजाय के हुन्छ, त्यो नै हुनुपर्छ’, दाहालले भने । यद्यपि यो विषयमा नगरपालिकाभित्र ठोस छलफल भने भैनसकेको उनले जानकारी दिएका छन् । उनले भने -‘प्रमुख प्रशासकीय अधिकृत भनेको नगरपालिकाको कर्मचारीको प्रमुख र नगर कार्यपालिकाको समेत सदस्य सचिव हो । त्यसैले मेयरले तत्काल बैठक बोलाएर छानबिन समिति गठन गर्नुपर्छ र वास्तविक कुरा बाहिर ल्याउनु पर्छ ।’
सामाजिक सञ्जालमा सार्वजनिक भै भाइरल बनेको भिडियोमा मदिरा सेवन गरी लठ्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको प्रष्ट देखिन्छ ।
भिडियो प्रकरणबारे निरौलाले सो भिडियो नगरपालिकास्थित आफ्नो सरकारी निवास नभएको भन्दै विभिन्न मिडियालाई स्पष्टीकरण दिए पनि प्रवक्ता दाहालले भने उनको भनाई झुटो ठहर हुने प्रतिकृया दिएका छन् । ‘यस्तो अनैतिक गतिविधि अन्य ठाउँमा भएको भए पनि त्यो गलतै हो । भित्र (नगरपालिकामा) भएपछि त झन संवेदनशील बन्यो ‘, दाहाल भन्छन् ।
भिडियोमा देखिने महिला निरौलाकी पत्नी नभएको कान्तिपुर न्यूज पोर्टलले दावी गरेको छ । प्रवक्ता दाहालले पनि अधिकृत निरौला र भिडियोमा देखिएकी युवतीको उमेर ‘बाबु-छोरी जस्तो देखिने’ बताएका छन् ।
निरौलाका दुई सन्तान र श्रीमती भने काठमाडौंमा बस्दै आएका बताइएको छ ।
विगतमा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएका बेला पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका कान्तिपुरले उल्लेख गरेको छ ।
उनीमाथि करिब ५ वर्षअघि झापामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला उनी जग्गा किर्ते काण्डमा संलग्न भएको पाइए पनि जोगिएका थिए ।
अधिकृत निरौलाको भिडियो भाइरल भए पनि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भने घटना बारे अनविज्ञता प्रकट गरेको बताइएको छ । न्यूज कान्तिपुरले थापा र निरौला नातेदार रहेको समेत जिकिर गरेको छ ।

