
१४ साउन, दमक । सरकारी क्वार्टरमै युवतीसँग अनैतिक हर्कत गरेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आइतबार बिहानै क्वार्टरभित्रको शयन कक्षमा रङरोगन गराएर प्रमाण मेट्न खोजेको प्रमाण दिएका छन् ।
भिडियोमा देखिएको क्वार्टरभित्रको पृष्ठभूमि फरक देखाउन प्रमुख प्रशासकीय अधिकृत निरौलाले क्वार्टर भित्र आइतबार बिहानै रङरोगन गराएर प्रमाण नष्ट गर्न खोजेको प्रमाणित भएको हो ।
शनिबार सामाजिक सञ्जाल टिकटकमार्फत सर्वजनिक भएको भिडियोमा निरौला एक युवतीसँग मदिरा पिएर अनैतिक हर्कत गर्दै गरेको भिडियो भाइरल भएको थियो । उनीसँगै रहेकी ती युवतीले टिकटक लाइभमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।

उनी आफैले प्रयोग गर्दै आएको दमक नगरपालिका हाताभित्रकै क्वार्टरमा युवतीसहित निरौलाको भिडियो सार्वजनिक भएसँगै उनीविरुद्ध कार्वाहीको माग भएको छ । सामाजिक सञ्जालमा भिडियो बारे र रङरोगन बारे समेत प्रश्न उठाइएका छन् ।
यस अघि नै सो भिडियोमा देखिएका व्यक्ति निरौला नै भएको र भिडियो खिचिएको कोठा नगरपालिकाको क्वार्टर नै भएको पुष्टी गरेका दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहाल (दिपेश) ले रङरोगन गरेको बारे सुनेको तर आधिकरिक जानकारीमा नआएको बताए । ‘भिडियो प्रकरण बारे आवश्यक छानबिन प्रकृया अगाडि बढाउनु पर्ने राय मेयरलाई दिएको छु । नगरपालिकामाथि गम्भीर प्रश्न उठेको समयमा क्वार्टरभित्र कुनै अदलबदल गर्न र प्रमाण नष्ट गर्न खोजिए त्यसको जवाफदेही कर्ता स्वयम् हुन्छ’, दाहालले भने ।
निरौलाले आफू बस्ने क्वार्टरको भित्ताको रङ हरियोबाट बदलेर पहेँलो पोत्न लगाएका छन् । तर, भिडियो देखिएको एसी चाहिँ उही स्थानमा उही मोडलको भएकोले भिडियो खिचिएको स्थान नगरपालिकाकै क्वार्टर भएको प्रष्ट हुन्छ ।
क्वार्टरमा रङरोगन गरिएको बारे निरौलाले ‘रुममा मुसा गन्हाएर रङरोगन गरिएको’ भन्दै यसलाई अन्यथा नलिन सञ्चार माध्यमहरुलाई भनेका छन् ।

