adv

झापामा किरात याक्थुङ चुम्लुङको सप्ताहव्यापी कार्यक्रमको समापन

१८ भदौ, विर्तामोड। किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसका अवसरमा झापामा आयोजित सप्ताहव्यापी कार्यक्रम आइतवार समापन भएको छ ।

चुम्लुङ स्थापनाको दिन भदौ १७ गतेलाई केन्द्रविन्दु मानी भदौ १० गते शुरु गरिएको सप्ताहव्यापी कार्यक्रमलाई बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसको सभाहलमा आइतवार समापन गरिएको हो । समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संस्थापक सदस्य, पूर्व सचिव, वर्तमान संघीय सल्लाहकार तथा नायक तुत्तु नरप्रसाद लुम्फुङ्वाले सप्ताहव्यापी कार्यक्रमको समापन गर्दै किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर शाखाद्वारा प्रस्तुत के लाःङ् समूहलाई जिल्ला उत्कृष्ट घोषणा गरे ।

प्रमुख अतिथि लुम्फुङ्वाले चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा भदौ १६ गते आयोजना गरिएको जिल्लास्तरीय के लाःङ् प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो भएका ४ वटा के लाःङ् समूहलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाण–पत्र प्रदान गरे ।

यसैगरी प्रमुख अतिथि लुम्फुङ्वाले श्रीमती खेममाया सिङ्गक् आङ्बुहाङ् अक्षयकोषबाट छात्रवृत्ति प्राप्त गर्ने काँकडभिट्टा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत फुङ्सा लिम्बूलाई नगद रू. १० हजार, किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोषबाट छात्रवृत्ति प्राप्त गर्ने बालकल्याण माध्यमिक विद्यालय मेचीनगर–५ मा कक्षा ६ मा अध्ययनरत स्नेहा लिम्बूलाई नगद रू. १० हजार र किरात याक्थुङ चुम्लुङ सहयोग कोषबाट छात्रवृत्ति प्राप्त गर्ने सरस्वती मा.वि. कमल–७ मा कक्षा ९ मा अध्ययनरत सिम्रन लिम्बू र चन्द्रभानु ज्योति मा.वि. भदरपुर–३ मा कक्षा १० मा अध्ययनरत कुद्धिमान लिम्बूलाई जनही ५ हजारका दरले नगदसहित प्रशंसापत्र प्रदान गरे ।

किरात याक्थुङ चुम्लुङमा योगदान गर्ने दर्जनौं व्यक्तिहरूलाई सम्मान गर्दै प्रमुख अतिथिले किरात याक्थुङ चुम्लुङ महिला समूह बिर्तामोड–५ इन्द्रेणी टोललाई नगद रू. १० हजार ५ रूपैयाँसहित प्रोत्साहनपत्र प्रदान गरे ।

झापा जिल्लाभरिका संगठन विस्तारमा उत्कृष्ट ठहरिएका कियाचु मेचीनगर शाखा र अक्षयकोष निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने कियाचु बिर्तामोड नगर शाखालाई प्रमुख अतिथिले सम्मानपत्रद्वारा सम्मान गरे ।

किरात याक्थुङ चुम्लुङको विशिष्ट संरक्षक सदस्य बनेका र कियाचु शिवसताक्षी ३ नं. वडा शाखालाई १ कट्ठा १० धुर निशुल्क जग्गा प्रदान गर्ने दम्पतिद्वय दुर्गाप्रसाद सम्बाहाङ्फे र धनमाया तुम्वापो सम्बाहाङ्फेलाई प्रमुख अतिथिले अभिनन्दन गरेका थिए भने चुम्लुङलाई संस्थागत योगदान पुर्याउनेहरू दमक–१ का राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिंह सम्बाहाङ्फे, दमक–२ निवासी कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ र कियाचु अर्जुनधारा नगर अध्यक्ष तिलसिंह माङ्मुलाई सम्मान गरेका थिए ।

त्यसैगरी समारोहमा प्रदेश नं. १ को नाम कोशी खारेजी आन्दोलनमा घाईते भएका र पक्राउ परेकाहरू कमल–३ निवासी नरेनहाङ् लिम्बू, कमल–२ निवासी खड्ग पन्गेनहाङ्, दमक–५ निवासी मनकुमारी बेघा, दमक–९ निवासी जिल्ला चुम्लुङ सदस्य बन्दना नेम्बाङ् र अर्जुनधारा–६ निवासी चन्द्र साँवालाई प्रमुख अतिथिले विशेष सम्मान गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्फुङवाले याक्थुङ÷लिम्बू जातिको साझा संस्थाको रूपमा वि.ं २०४६ सालमा स्थापना गरि हालसम्म भईरहेको चुम्लुङका गतिविधिहरूको वारेमा विस्तृत बेलिविस्तार सुनाए ।

विशिष्ट अतिथित्रय कियाचु संघीय सदस्य, कियाचु झापा सल्लाहकार तथा बिर्तामोड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे र नेपाल आदिवासी जनजाति महासघ (नेफिन) झापाका अध्यक्ष पाण्डवलाल चौधरीले किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा देशविदेशमा रहेका समस्त मानवमा शुभकामना व्यक्त गर्दै देशमा पहिचान पक्ष र पहिचान विरोधीकाबीच शीत युद्ध सुरु भएको संकेत गरे । यस्तो परिस्थितिबाट सम्प्रदायलाई जोगाएर धार्मिक र जातीय द्वन्द्व हुन नदिन चुम्लुङले अपनाएको सांस्कृतिक जगेर्नाको आन्दोलनको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिए ।

समारोहमा राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जवेगु ,निवर्तमान जिल्ला अध्यक्ष भक्त खेवाङ्लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ ३५औं स्थापना दिवस समारोह झापाका संयोजक तथा किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको सभापतित्वमा सम्पन्न चुम्लुङ स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम समापन समारोहमा किरात याक्थुङ चुम्लुङ विर्तामोड नगर शाखाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले स्वागत मन्तव्य राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ महिला समूह बिर्तामोड–५ का पालामी अभियन्ता माङ्गेन्ना चेलीहरूको पालामी गुञ्जायसँगै प्रारम्भ भएको कार्यक्रममा राष्ट्रिय गायिका गंगा फियाक लिम्बू र याक्थुङ स्टारका फाइनललिष्ट दिलीप माखिमको बेजोड सांगीतिक प्रस्तुति रहेको कार्यक्रम फरक आयामका कवि साङ्सेन पन्दाक र सन्चारकर्मी भूमिका फियाकले सञ्चालन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु