२० भदौ, बिराटनगर ।

समाजवादी मोर्चाले भदौ २५ गते प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा सन्देश सभा आयोजना सहित शक्ति प्रदर्शन गर्ने बताएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह सम्मिलित समाजवादी मोर्चाले सन्देश सभाको आयोजना गर्ने भएको हो । सभामा १४ जिल्लाका चार हजार भन्दा बढी अगुवा कार्यकर्ता सहभागी गराउने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
विराटनगरस्थित होटल मनास्लुमा रहने कार्यक्रमलाई चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने जनता समाजवादी पार्टी, नेपाल प्रदेश नम्बर १ अध्यक्ष दिपक याक्खाले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।
सन्देश सभाको तयारी लगभग अन्तिम चरणमा पुगेको भन्दै जसपा अध्यक्ष याक्खाले भने –‘विराटनगरबाट समाजवादी मोर्चाले मुलकलाई समाजवादी मोर्चामा सबै शक्तिलाई आवद्ध हुन आह्वान गर्ने सन्देश प्रवाह गर्नेछ ।’
बिराटनगरमा हुने सन्देश सभामा चारै दलले एक–एक हजार अगुवा कार्यकर्ता उतार्ने गरी गृहकार्य भइरहेको बताइएको छ । भदौ २५ गते सोमबार दिनको १२ः१५ बजेबाट मोर्चाको प्रदेशस्तरीय सन्देश सभा विराटनगरको होटल मनास्लुमा हुने छ ।
व्यापक प्रचारप्रसार र जनसहभागीता जुटाउन प्रदेश राजधानी विराटनगरसहित मोरङ, सुनसरी र झापा जिल्लाका पार्टी समितिहरुलाई निर्देशन गर्ने मोर्चाको तयारी छ ।
बुधबार सन्देश सभा कार्यक्रमको तयारी बारे जसपा प्रदेश पार्टी कार्यालय इटहरीमा मोर्चाको बैठक समेत बसेको थियो । बैठकले मातहतका पार्टी समितिहरुलाई कार्यक्रम सफल पार्न क्रियाशील भएर लाग्न आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।

