झापाको दमकमा ‘बी’ डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
तिलुङ्छा चाम्लिङ राई कभर्ड हलमा हुने खेल असोज १९ र २० गरी दुई दिन चल्ने छ ।
तिलुङ्छा चाम्लिङ राई कभर्ड हल समितिको आयोजनामा हुने प्रतियोगितालाई स्वस्थ प्रतिस्पर्धा गराउन दमकका सिनियर खेलाडीहरु सुदेन राई र प्रकाश राईलाई खेलाडी छनोटमा राखिएको कभर्ड हलका अध्यक्ष रन बहादुर राईले जानकारी दिए ।
राईका अनुसार ‘बी’ डिभिजन खेल हुने भएकोले खेलाडी छनोटमा विवाद नआवोस भनेर छनोट समिति बनाएको हो तर यहाँ मिक्स डबल इभेन्ट पनि हुने भएकोले इच्छुक सबैले सहभागी हुन पाउने छन् ।
‘स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको मुख्य उदेश्य स्थानीय खेलाडी उद्पादनलाई जोड दिनु नै रहेको खेल संयोजक धन कुमार राईले बताए ।
बिहान ७ बजे बाट नै सुरु हुने प्रतियोगितामा ‘बी’ डिभिजन सहित मिक्स डबल इभेन्ट खेल पनि रहेको छ । दुवै इभेन्ट्सको इन्ट्रि फी १५ सय रुपैयाँ रहेको प्रतियोगिताको ‘बी’ डिभिजन तर्फ प्रथम पुरस्कार १५ हजार दोस्रो ८ हजार र तेस्रो ४ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ ।
त्यस्तै मिक्स डबल तर्फ प्रथम पुरस्कार ८ हजार, दोस्रो ४ हजार र तेस्रो २ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । खेल बिडब्लुएफको नियम अनुसार खेलाइने आयोजकले जानकारी दिए ।


