adv

पाथिभरा मन्दिरमा ८८ लाखको हिनामिना

सजन राई


इलाम ।
इलामको रोङ-३ मा रहेको पाथीभरा मन्दिरमा ८८ लाख भन्दा धेरै रकम हिनामिना भएको सार्वजनिक भएको छ ।

२०८० जेठ २३ गते गठित जिल्ला प्रशासन कार्यलयको छानबीन समितिले प्रतिवेदन सार्वजनिक नगरे पछि रोङ गाउँपालिका र पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिले पत्रकार सम्मेलनमा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

गाउँपालिकाको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७९ को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कुल आम्दानी तीन करोड १४ लाख ६२ हजार ९२९ देखिएको छ । जसमध्ये खर्च दुई करोड २० लाख ९१ हजार २४२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।  ०७५ असोजदेखि ०७९ माघ मसान्तसम्मको ८८ लाख ८३ हजार १२४ रकम मौज्दात रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ। उक्त ८८ लाख ८३ हजार १२४ रुपैयाँ रकम कहाँ छ भनेर प्रतिवेदनमा उल्लेख नगरिएको अध्ययनमा खटिएका छानविन समितिका सदस्य समेत रहेका लेखा परीक्षक प्रज्वल अधिकारीले जानकारी दिए ।

उनका अनुसार संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएको पाथीभरा संरक्षण संस्थाले २०७३ सालदेखि नवीकरणसमेत गरेको छैन । उक्त संस्थाले लेखापरीक्षण गरे पनि हिसाब भने अपारदर्शी रहेको छ । छापिएको मध्येबाट २४६ वटा रसिद बुक नै भेटिएन ।

प्रतिवेदनको अन्तिम टुंगो लाग्ने समयमा प्रजिअ श्रवणकुमार पोखरेलले हस्तक्षेप गरेको अधिकारीले बताए। ‘अंकको हिसाबले गाउँपालिकाको अध्ययन प्रतिवेदन र जिल्ला प्रशासनको प्रतिवेदन एउटै छ तर भाषामा भने प्रजिअले हस्तक्षेप गरेर परिवर्तन गरेका छन्; उनले भने, ‘प्रतिवेदनको कपी पनि दिएनन्। यो तपाईंहरूले बिर्सनुस । कसैले सोधे यसको जवाफ म दिन्छु भनेर पन्छाए ।’

पाथीभरा मन्दिर रोङ गाउँपालिकाको मात्र नभएर समग्र देशको सम्पत्ति भएकोले सत्य तत्थ करा आउनु पर्ने र यस्ता कुतिथिको विरुध्द सबै जना एक भएर लाग्नु पर्ने गाउँपालिका उपाध्यक्ष विष्णु माया भुजेलले बताए ।

पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिरलाई फागुन १ देखी गाउँपालिकाको स्वामित्वमा ल्याईएको हो ।

प्रतिवेदन अनुसार नयाँ समितिको फागुनयता ७ महिना ३ दिनको भेटी, जिन्सि र दान पेटिका सहयोग गरी १ करोड ६ लाख आम्दानी देखिएको छ भने पुरानो समितिको हिसाब अनुसार ४ वर्ष ७ महिनाको आम्दानी ३ करोड १४ लाख रुपैयाँ देखिएको छ । यहिँबाट घाम जतिकै छर्लङ्ग हुने पालिका अध्यक्ष मनि कुमार स्याङ्बोले बताए । रोङ गाउँपालिकाले पाथीभरा मन्दिरमा अनियमितता भएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय इलामलाई पटक पटक पत्र लेख्दा पनि कुनै प्रतिक्रिया नआएपछि गृह मन्त्रालय सम्म पुग्नु परेको थियो । उनले भने हामिले पारदर्शी काम गर्नु पर्ने हुन्छ । छानबीन समिति पनि गृह मन्त्रिलाई दवाव दिए पछि प्रजिअको संयोजकत्वमा झिनो टार्ने किसिमको बनाइएको छ । छानबीन समितिको लागि गाउँपालिका बाट पठाइएका कार्यपालिका सदस्यलाई पनि बेवास्ता गरी आफ्नै मातहतका समिति गठन गरी अभद्र व्यवहार गरेको छ । यस सँगै उनले सबै सचेत नागरिकहरुलाई दबाबको निम्ति एक हुन आग्रह गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु