adv

नागरिक सचेतनाले दमकमा अपराध न्यूनीकरण सहज छ : प्रनाउ लामा

१५ असोज, दमक ।

दमकको शान्ति सुरक्षामा नगरपालिका, राजनीतिक दल, स्थानीय संघसंस्थाहरुको सहयोग भरपूर रहेको इलाका प्रहरी कार्यालय दमकमा प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताएका छन् ।

सोमबार बिहान दमक उद्योग बाणिज्य संघले आयोजना गरेको चाडवाड केन्द्रित सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रनाउ लामाले दमकका सचेत नागरिकहरुको सहयोगले आधा अपराधका गतिविधि घटेको दावी गरेका हुन् ।

उनले भने –‘तपाई दमकका नागरिक जति समेत अन्यत्र मैले देखेको छैन ।’

दमक लगायत आज विश्वभर नै लागु औषधको समस्या चुनौतीका रूपमा रहेको भन्दै लामाले दमकमा सिरिन्जको समस्या कम भए पनि पाण्डर र ट्याब्लेटको समस्या बढेको स्पष्ट पारे । उनले लागु औषधको सेवन बढेपछि समाजमा चोरी, लुटपाट र अन्य जघन्य अपराधका घटना बढेर जाने भन्दै लागु औषध प्रयोगलाई न्यूनीकरण गर्न आवश्यक रहेको धारणा राखे ।

‘प्रहरीले घटना न्यूनीकरण गर्ने हो । अपराध शून्य भन्ने विश्वमा कहिँ पनि हुँदैन । घटना घटिसकेपछि प्रहरीले अनुसन्धान गर्ने र पीडितलाई न्याय र पीडकलाई दण्ड गराउन न्यायलयमा पठाउने हो’, लामाले भने ।

दमक चियाबगान क्षेत्रमा बत्तिको व्यवस्था गर्न र सीसी क्यामेराको व्यवस्थाका लागि दमक नगरपालिकालाई अनुरोध गर्दै उनले शान्ति सुरक्षा प्रदान गर्न आफू र मातहतको प्रहरी युनिट तयार रहेको जिकिर गरे ।

उनले भने –‘१८ वटा सीसी क्यामेरा जडान गरिएकोमा अहिले ८ वटा मात्रै सञ्चालनमा रहेको छ । अझ हामीलाई एउटा नम्बर रिडर सीसी क्यामेरा आवश्यक छ । नगरपालिका र बाणिज्य संघले ध्यान दिनुहुन अनुरोध छ ।’

दमकमा आफू आइसकेपछि मोबाइल र बाइक चोरीका घटनामा कमी आएको लामाको भनाइ थियो ।

कार्यक्रममा दमक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख रेगिना भट्टराई प्रसाईंलगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी रहेका थिए ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चाडवाड केन्द्रित सुरक्षा चासो बारे छलफल भएको संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु