सजन राई
१५ असोज, बाह्रदशी ।

प्रथम नवज्योति ओपन नकआउट फुटबल प्रतियोगिताको उपाधि जलथल एफसीले जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा त्रिवेणी एफसी लाई हराउँदै जलथल च्याम्पियन बनेको हो ।
बाह्रदशी–६ स्थित किरात रंगशालामा भएको उपाधि भिडन्तको निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत दुवै टिमको तर्फबाट ५–५ बराबरी गोल भएपछि प्रतिकूल मौसमको कारण नतिजाका लागि लक्की ड्र गर्नु परेको थियो ।
फाइनल स्पर्धामा पुगेका जलथल र त्रिवेणीले सेमी फाइनलमा क्रमशः सैनिक ११ र ब्रदर्श एफसी दमकलाई पराजित गर्दै उपाधि होडमा आफ्नो दावी पक्का गरेका थिए ।
त्रिवेणिका सन्तोष राई फाइनल खेलको म्यान अफ द म्याच भए । विजेता बनेको जलथलले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता त्रिवेणिले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
अन्य व्यक्तिगत विधातर्फ त्रिवेणीका सञ्जोक हस्ता उत्कृष्ट गोलरक्षक घोषित भए भने त्रिवेणीकै कप्तान हिमाल गुरुङ अनुशासित खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि भने सैनिक ११ का पाल्देन घलेले हात पारे ।
प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट त्रिवेणीका रिक्की श्रेष्ठ घोषित भए । फेयर टिमको उपाधि ब्रदर्श एफसी दमकले प्राप्त गर्यो ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथि झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व उपप्रधान तथा उर्जा मन्त्रि राजेन्द्र प्रसाद लिङदेनले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताका प्रचार प्रसार संयोजक अमृत ढिछाङ्छा बान्तावाले दिएको जानकारी अनुसार नवज्योति खेलकुद विकास समिति र नवज्योति युवा परिवारको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताको मिडिया पार्टनरका रूपमा हरप्रहर मिडिया प्रालि र समदर्शी सञ्चार प्रालि रहेका थिए भने प्राविधिक सहयोगमा ह्वाइट पेपर डिजिटल सोलुसन दमक रहेको थियो ।
असोज ६ देखि १४ गते सम्म सञ्चालित प्रतियोगितामा झापा भरिका १० वटा टीमको सहभागिता रहेको थियो ।
पत्रकार ११ र नवज्योति भेट्रानबीच १–१ को बराबरी
त्यस्तै फाइनल खेल हुनु भन्दा अगाडि भएको पत्रकार मञ्च दमक (पत्रकार ११) र आयोजक नवज्योति भेट्रान्सको मैत्रिपूर्ण खेल बराबरीमा टुङ्गिएको थियो ।
आयोजक भेट्रान्सले पहिलो हाफमै खेलमा अग्रता बनाए पनि आमन्त्रित पत्रकार ११ ले दोस्रो हाफको अन्तिम समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै गोल फर्काउन सफल भएको थियो ।
दुवै टिमले खेल अवधिभर पाएका राम्रा अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा नतिजा १–१ को बराबरी हुन पुगेको थियो ।


