adv

इजरायलमा मारिएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक

२२ असोज, दमक ।


सरकारले इजरायल आक्रमणमा मारिएका १० जना नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ’, मन्त्री शर्माले भनिन् ।

परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउने तयारी थालेको जानकारी दिँदै उनले मृतकका परिवारलाई राहत स्वरूप जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएकी छन् ।

इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको बताइएको छ ।

दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको समेत सञ्चारमन्त्री शर्माले बताइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु