२२ असोज, दमक ।
इन्द्रबहादुर राईले दोस्रो विश्व युद्धलाई चिहाउने आँखीझ्याल हो कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ । जापानको आक्रमक युद्ध उन्मादले जब ब्रिटिस उपनिवेशमा रहेको बर्मामाथि धावा बोल्यो, बर्मामा हाँसीखुसी बाँचेका नेपाली जातिले हठात बर्मा छोडेर भारततर्फ पलायन हुनुपर्ने वाध्यता आइलाग्यो ।
यसरी आफूले रगत पसिना बगाएर कर्म गरेको र अनेक सपना सजाएको बर्मा देश छोड्दैगर्दा नेपाली जातिले भोग्नु परेका दुःखका भीमकाय पहाडहरुलाई इन्द्रबहादुर राईले कथामा जति सरल र जीवन्त किसिमले प्रस्तुत गरेका छन्, त्यो परिवेश, परिस्थिति र दुःखका श्रृंखलाहरुलाई नाट्य रूपान्तरण गरेर कदम थिएटरले असोज १२ गतेबाट मञ्चन गरिरहेको नाटक हो –‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ ।
अइबी राईको यो कथालाई कदमका कला निर्देशक सिजन दाहालले नाट्य रूपान्तरण गरेका हुन् भने नाट्यकर्मी जीवन बरालले निर्देशन गरेका हुन् । नाटकमा विभिन्न पात्रका रूपमा देखिने कलाकारहरु भने कदम थिएटरको पहिलो तीन महिने अभिनय कक्षा पार गरेका प्रशिक्षार्थी कलाकारहरु हुन् ।
असोज २१ गतेसम्म मञ्चन गर्ने भनिएको नाटक पछिल्ला दिनमा हाउसफुल चल्न थालेको र दर्शकलाई नाटकघरबाट फर्काउनु परेपछि असोज २४ गतेसम्म समय थपिएको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिएका छन् । शनिबार बाहेक साँझ ५ः१५ बजे र शनिबार भने दिउँसोे १ बजे पनि अतिरिक्त शो हुँदैआएको छ ।
दर्शकले यो नाटक दमक ९ स्थित कदम थिएटरको पाङवाइला हकमा हेरिरहेका छन् ।
चियाको राजधानी इलाममा अन्वेश राई थुलुङको परिकल्पना र निर्देशनमा नाक ‘चिया बारी’ मञ्चन थालिएको छ ।
असोज २२ देखि कात्तिक २ गतेसम्म शनिबार बाहेक दिउँसो ४ः३० बजे र शनिवार दिउँसो १२ बजे समेत अतिरिक्त शो हुने यो नाटक दर्शकले नारी विकासको सभाहल, इलाममा हेर्न पाउने छन् ।
चेतना नाट्य समूह इलामले नाटक लेखन र प्रस्तुति गरेको हो ।
गायक तथा संगीतकार गणेश रसिकको उपन्यास ‘आकाश गंगाको ओतमुनी’ लाई आधार मानी तयार गरिएको नाटक ‘झोडा’ असोज २६ गतेदेखि ३० गतेसम्म दमक ७ को किरात भवनमा मञ्चनको अन्तिम तयारीमा छ ।
सो उपन्यासलाई सुमन लिङ्देनले नाट्य रूपान्तरण गरेर झोडा नाटक बनेको हो भने यसलाई चेतन आङ्थुपोले निर्देशन गरेका हुन् । प्रत्येक दिन साँझ ५ बजे यो नाटक मञ्चन हुने बताइएको छ ।
परिवर्तन थिएटरले मेची सामुदायिक भवन काँकरभिट्टाको हलमा ‘म्लेच्छ’ नाटक मञ्चनको अन्तिम तयारीमा पुगेको जनाएको छ । लेखक पत्रकार एवम् रङ्गकर्मी पर्वत पोर्तेल ‘म्लेच्छ’ का लखेक हुन् भने यो नाटक आदिवासी संस्कृतिमा आधारित छ । नाटकलाई गणेश बस्नेतले निर्देशन गरेका छन् ।
असोज २५ देखि कार्तिक ३ सम्म यो नाटक मञ्चन हुने बताइएको छ । परिवर्तन थिएटरले झन्डै तीन वर्षपछि नाटक प्रदर्शनको तयारीमा जुटेको बताएको छ ।
गौरादहमा असोज २६ गते शिल्पी थिएटरले खाद्यका लागि कृषि अभियानसँगको सहकार्यमा नाटक ‘सट्टापट्टा’ को निःशुल्क मञ्चन गर्न लागेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन गौरादह कृषि क्याम्पस र सगरमाथा मूल कृषक समूह गौरादह ३ सँगको सहकार्यमा शिल्पीले यो नाटक सामुदायिक भवन गौरादह ३ मा दिउँसो १ बजे मञ्चन गर्ने जनाएको हो ।