
कबिध्वज राई । २६ असोज , धरमपुर । झापाको धरमपुरमा जारि प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप २०८० को तेस्रो दिनको खेलमा आमन्त्रित उर्लाबारी भेट्रान क्लब विजयी भएको छ ।
पाराबारी स्थित भानु माध्यमिक विधालयको खेल मैदानमा पाराबारी भेट्रान क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा कन्काई भेट्रान क्लबलाई ३-० गोल अन्तरको सहज जित निकाल्दै उर्लाबारी भेट्रान क्लब सेमिफाइनल पुग्न सफल भएको छ ।
सुरु देखि नै आक्रमक खेल प्रस्तुत गरेको उर्लाबारीले खेल सुरु भएको दोस्रो मिनेटमा नै पेनल्टि पायो । उर्लाबारीका दिपक लिम्बुलाई बल अगाडी बढाउने क्रममा कन्काईका डिफेन्सले डिबक्स एरिया भित्र लडाएपछि रेफ्रिले पेनल्टि दिएको थियो ।
पेनल्टि प्रहारलाई दिपक लिम्बुले गोलमा परिणत गरेका थिए ।
एक गोलको अग्रता लिएर अगाडि बढेको उर्लाबारीले पहिलो हाफको २४औं मिनेटमा टेक बहादुर कटुवालको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो ।
उर्लाबारी त्यतिमै रोकिएन दोस्रो हाफको ५२औं मिनेट दिपक लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता बढाए । कन्काई भेट्रानले पाएको अवसरहरुको सदुपयोग गर्न नसक्दा नतिजा सुम्पन बाध्य भयो ।

खेलको म्यन अफ द म्याच उर्लाबारी भेट्रानका दिपक लिम्बु घोषित भए । उनलाई स्थानीय दुर्गा मन्दिरका अध्यक्ष गोपाल प्रसाद फुयाल द्वारा पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा झापाका ७ र मोरङका आमन्त्रित १ टिम गरि जम्मा ८ टिम रहेका छन । जस्मा रातो पाराबारी भेट्रान, भद्रपुर भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, कनकाई भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, तुर्केनी स्पोर्ट क्लब र निलो पारबारी भेट्रान क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यसैगरि म्यानअफ द म्याच, हाइस्कोर, उत्कृष्ट खेलाडी, गोल किपर, उत्कृष्ट डिफेन्स लगायत व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा शिबसताक्षी नगरपालिका र शिवसताक्षी- ३ प्रायोजक रहेका छन् । चौथो दिनको खेल तुर्केनी स्पोर्ट क्लब र निलो पाराबारी भेट्रान बिच आयोजकले जानकारी दिए ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद “ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असोज ३० सम्म हुनेछ ।

