adv

झापा एफसी चारपाने सेमिफाइनल प्रवेश

बिर्तामोड, २६ असोज ।


राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोलल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार भएको खेलमा झापा एफसीले बुट्टाबारी युनाइटेड एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल अवधिभर झापाले बुट्टाबारीलाई निक्कै दबावमा राखेको थियो । उत्कृष्ट फिनिसिङ र लयमा रहेको झापाले बुट्टाबारीलाई ५–० गोल अन्तरले स्तव्ध बनाएको थियो ।

झापाका लागि आयुष श्रेष्ठले २९ औँ र ४८ औँ मिनेटमा गोल गरे भने सञ्जय धिमालले ३४ औँ, दिपेश श्रेष्ठले ३८ औँ र राजेश तामाङले ७१ औँ मिनेटमा गोल गरे । बुट्टाबारीका गोलकिपर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उनको ठाउँमा प्रशान्त सेन्च्युरीले गोलपोष्ट सम्हालेका थिए ।

शुक्रबारको खेलको प्लेयर अफ द म्याच झापा एफसीका आयुष श्रेष्ठ भए । उनले नगद तीन हजार पाए ।

प्रतियोगितामा झापाका आठ वटा क्लबहरू सहभागी छन् । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लब, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु