adv

उर्लाबारी पाराबारी भेट्रान कपको फाइनल प्रवेश

दर्शन राई
२९ असोज, धरमपुर ।


झापाको धरमपुरमा जारि प्रथम झापा नगरस्तरीय पाराबारी भेट्रान कप २०८० मा पाहुना टिम उर्लाबारी भेट्रान क्लब फाइनल प्रवेश गरेको छ ।

पाराबारीस्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा पाराबारी भेट्रान क्लबको आयोजनामा चालु रहेको प्रतियोगितामा भद्रपुर भेट्रान क्लबलाई २–१ ले स्तव्ध पार्दै उर्लाबारीले फाइनल यात्रा तय गरेको हो ।

यो जितसँगै उर्लाबारीले भोलि असोज २९ गते हुने विर्तामोड र तुर्केनीबीचको अन्तिम सेमिफाइनलका विजेतासँग भेट पक्का गरेको छ ।

पहिलो हाफको २३ औँ मिनेटमा उर्लाबारीका गंगा कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । भने २६ औँ मिनेटमा दिपक लिम्बूले गोल थप्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २ गोलले पछि परेको भद्रपुरले दोस्रो हाफको २० औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै एक गोल फर्काउन सफल भए पनि जितका लागि त्यो पर्याप्त भएन ।

डिबक्सभित्र उर्लाबारीका खेलाडीले ह्याण्ड गर्न पुगेपछि भद्रपुरका कप्तान खेमराज पोखरेलले प्रहार गरेको पेनाल्टी किक उर्लाबारीका गोलकिपरले छेकेका थिए । तर रिबाउण्ड भएको बललाई खेमराजले नै चलाखीपूर्वक जाली चुमाएका थिए ।

त्यसपछि पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा भद्रपुर उपाधि होडबाट बाहिरिन पुगेको थियो ।

उर्लाबारीका गोलकिपर खगेन्द्र गौतम खेलको म्यान अफ दी म्याच भए । उनलाई पाराबारी बजार व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष वीरबहादुर बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा झापाका ७ र मोरङको आमन्त्रित १ टिम गरि जम्मा ८ टिम रहेका छन् । जसमा रातो पाराबारी भेट्रान, भद्रपुर भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, कनकाई भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, तुर्केनी स्पोर्ट क्लब र निलो पारबारी भेट्रान क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउने छन् ।

त्यसैगरि म्यान अफ दी म्याच, हाइस्कोर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डरलगायत व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा शिवसताक्षी नगरपालिका र शिवसताक्षी वडा नम्बर ३ प्रायोजक रहेका छन् ।

‘स्वस्थको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असोज ३० हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु