सजन राई
२८ असोज, दमक ।

झापाको दमकमा सुरु भएको दोस्रो रोयल महिला फुटबल प्रतियोगिता २०८० प्रदेश आमन्त्रण नकआउट फुटबलको पहिलो खेलमा सिएफसी काठमाडौंले विजयी सुरुवात गरेको छ ।
दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालित प्रतियोगिताको उदटन खेलमा नवबुद्ध फुटबल क्लब सप्तरीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै सिएफसी दोस्रो चरण प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको १० औँ मिनेटमा सिएफसीकी ममता राउतले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ममता अण्डर १५ महिला राष्ट्रिय टोलिबाट खेलिसकेकी अनुभवी खेलाडी हुन् । पहिलो हाफमा गोल गर्न नसकेको नवबुद्धले दोस्रो हाफको ४ औँ मिनेटमा नै गोल फकाउँदै खेल बराबरीमा ल्याएको थियो ।
बराबरीसँगै थप रोमाञ्चक बनेको खेलको ११ औँ मिनेटमा सिएफसीकी पूर्णिमा राई (लेडि मेस्सी) ले जितको लागि निर्णायक गोल थपिन् ।
खेलको प्लेयर अफ दी म्याच सिएफसीकी सिमरन राई घोषित भइन् । उनी पनि अण्डर १५ महिला राष्ट्रिय टोलिबाट खेलिसकेकी अनुभवी खेलाडी हुन् ।
रोयल स्पोर्टिङ क्लब दमकको आयोजना रहेको ‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ नाराका साथ आइतबारबाट कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका खेल संयोजक राजु खड्काले जानकारी दिए ।
प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजक टिम सहभागी छन् ।
प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।
मैत्रिपूर्ण खेलमा क्लब हिमालय टाइगर ४–३ विजयी

प्रतियोगिताको उद्घाटन खेल अगाडि पत्रकार मञ्च दमकको पत्रकार–११ र क्लब हिमालयन टाइगरबीचको मैत्रिपूर्ण खेलमा भएको थियो ।
सो खेलमा हिालयन टाइगर ४–३ को गोल अन्तरले विजयी भएको हो ।
खेल सुरु भएको दोस्रो मिनेटमा नै पत्रकार–११ ले पाएको पेनाल्टी सदुपयोग गर्दै पवन राईले गोलमार्फत टिमलाई अग्रता दिलाएका थिए । तर अग्रता धेरै बेर टिक्न सकेन । ५ औँ मिनेटमा हिमालयन टाइगरका नरेश लिम्बूले गोल गर्दै खेल बराबरी बनाए । खेलको ११ औँ मिनेटमा हिमालयनले उपहार गोल पायो । डिबक्सभित्र लडेका पत्रकार–११ का डिफेन्डर सजन राईको खुट्टामा फ्लिप भएको बल गोलमा परिणत भएको थियो ।
खेलको १२ औँ मिनेटमा फेरि पत्रकार–११ ले दोस्रो पेनाल्टी पायो र पवन राईले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरी बनाए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा हिमालयन टाइगरका आनन्द लिम्बूले ४ औँ मिनेट र ७ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । १० औँ मिनेटमा पत्रकार–११ का पवन राईले मैदानको करिब मध्ये भागबाट प्रहार गरेको लङ्ग सुट गोलमा परिणत भएको थियो । यो उत्कृष्ट गोलसँगै उनले ह्याट्रिक पूरा गरेका थिए ।
खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै पत्रकार ११ का कप्तान कमन देवानले आफ्नो टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको दावी गरे । ‘रेफ्रीबाट भएको केही प्राविधिक कम्जोरीका कारण खेल हार्यौं । तर, राम्रो खेल खेलेका थियौं’, देवानले भने ।


