adv

मंगलबार धनकुटा बन्दको आह्वान

२९ असोज, दमक ।


गत असोज २५ गते बिहीबार धनकुटाको राजारानीबाट पक्राउ परेका तीन जना पहिचान पक्षधर आन्दोलनकारी छुटाउन माग राख्दै आएका आन्दोलनकारीले भोलि असोज ३० बाट अनिश्चितकालीन धनकुटा बन्दको आह्वान गरेको छ ।

प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समिति धनकुटाले पहिचान पक्षधर आन्दोलनकारीहरु मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई नछाडेको विरोधमा धनकुटा बन्द आह्वान गरेको हो ।

प्रहरीले बिना कुनै अभियोग, अदालतको आदेश वा कुनै जानकारी नै बिना अपहरण शैलीमा पक्राउ गरेको र पटक–पटकको छलफलमा रिहाई गर्ने भनी प्रतिबद्धता जनाए पनि नछाडेको भन्दै दबाब सिर्जनाका लागि बन्द आह्वान गरिएको संघर्ष समिति धनकुटाका संयोजक सञ्जय सन्तोषी राईले जानकारी दिएका छन् ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले संघर्ष समितिका अगुवाहरुसँग २९ गतेभित्र बिना शर्त आन्दोलनकारीलाई छाड्ने मौखिक प्रतिबद्धता जनाएकोमा सो पूरा नभएपछि पूर्व घोषित असोज ३० गतेको धनकुटा जिल्ला बन्द कार्यक्रम याथावत राखिएको संघर्ष समितिले जनाएको हो ।

सोमबार आन्दोलनकारीले धनकुटा बजारमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि विरोधस्वरूप कोणसभा आयोजना गरेका थिए । उनीहरुले पक्राउ परेका तीन जना आन्दोलनकारीलाई नछाडेसम्म बन्द कार्यक्रम यथावत राखिने जनाएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु