adv

प्यारीभिट्टा बसपार्क मंगलबारदेखि सञ्चालनमा

३० असोज,मेचीनगर । झापाको काकरभिट्टास्थित प्यारीभिट्टा बसपार्क मंगलबारदेखि सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बसपार्कमा बसहरु प्रवेश गराएर शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले बसपार्कलाई पुर्ण व्यवस्थित बनाएर संचालन गरिने बताए ।

‘ठुलो चुनौतीबीच निर्माण गरेको बसपार्कको हामीले उचित सदुपयोग गर्न सकेनौँ, अहिले नगरपालिकाले समिति निर्माण गरेर बसपार्क सञ्चालन गरेका छौ,’ नगरप्रमुख बुढाथोकीले भने ।

बसपार्क शुभारम्भ कार्यक्रममा बिषेश अतिथि निवर्तमान नगरप्रमुख बिमल आचार्यले पुर्वीनाका रहेको क्षेत्रमा रहेको बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गरेर नेपाल आउने पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने बताए ।

बस टर्निमिनल तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष डिल्ली घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका मेचीनगर सभापति सुवेशकुमार पनेरु, नेकपा एमाले मेचीनगर इन्चार्ज चन्द्र प्रसाई, नेकपा माओवादीका मेचीनगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर सभापति कमल गौतम, राप्रपाका नगर अध्यक्ष विशालकृष्ण बाँस्तोला, जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङ, मेचीनगर- ७ का वडाअध्यक्ष प्रल्हादमणी ओली, पुर्व मेची बस यातायात प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठ, जग्गादाता टेकबहादुर शिवाकोटी र मेचीनगरका प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले सबैको सहयोग लिएर बसपार्क नियमित सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।

बसपार्कको शुभारम्भसंगै मंगलबारदेखि काकरभिट्टामा पार्किङ गरेर बस्ने लामो र छोटा दुरिमा चल्ने बसहरु प्यारीभिट्टा बसपार्कमा रहने व्यवस्था मिलाइएको बसपार्क सञ्चालनका लागि नगरपालिकाबाट गठित बस टर्निमिनल तथा यातायात व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार बसपार्कको सुरक्षाका लागि नेपाल प्रहरी, नगरप्रहरी, सुरक्षा एजेन्जी परिचालन गरिएको छ भने सिसि क्यामेराले निगरानी गरिएको छ ।

६ बिगाहा क्षेत्रफलमा फैलिएको बसपार्कको शुभारम्भ कार्यक्रम समितिका सदस्य सुरेन्द्र बुढाथोकीको स्वागत मन्तव्य र समितिका सदस्य सचिव माधव अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि निर्माण सम्पन्न भएर २०७४ मा उद्घाटन गरिएको प्यारीभिट्टा बसपार्कको उचित ब्यवस्थापन हुन नसक्दा सञ्चालनमा आउन सकेको थिएन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु