
सजन राई ।
३० असोज ,धरमपुर । झापाको धरमपुरमा सम्पन्न प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप २०८० को उपाधि विर्तामोड भेट्रान क्लबले जितेको छ । प्रतिस्पर्धात्मक खेलमा उर्लाबारी भेट्रान क्लबलाई ट्राइब्रेकरमा हराउदै विर्तामोडले उपाधि जितेको हो ।
शिवसताक्षी-३ पाराबारी स्थित भानु माध्यमिक विधालयको खेल मैदानमा सञ्चालित प्रतियोगिताको निर्धारित समयमा १-१ को बराबरी भए पछि खेल ट्राइबेकरमा पुगेको थियो ।
पहिलो हाफको ३०औँ मिनेटमा उर्लाबारीका धन बहादुर मगरले अनमार्क रहेका बेला डिबक्स नजिकबाट उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
१ गोलको अग्रता उर्लाबारीले दोस्रो हाफको दोस्रो मिनेटमा नै गुमाउन पुग्यो । जर्सि नम्बर ७ का सन्तोष राईले गोल गर्दै नतिजा बराबरी बनाए सँगै खेल झनै रोमाञ्चक बन्यो ।
ट्राइबेकरमा विर्तामोडका जर्सि नम्बर ७ का सन्तोष राई, जर्सि नम्बर १९ का अर्का सन्तोष राई, केशव दाहाल र राज कुमार विश्वकर्माले गोल गर्न सफल भए भने श्याम बहादुर राईको प्रहार बाहिरिएको थियो ।
उर्लाबारीका तर्फबाट दिपक लिम्बु र गजेन्द्र लिम्बुको प्रहार गोलमा परिणत भएको थियो भने विनोद न्यौपानेको प्रहार बाहिरिएको थियो । त्यस्तै पिताम्बर भट्टराईको प्रहार विर्तामोडका गोल किपर रुपक गुरुङले रोक्न सफल भए । गुरुङ प्रतियोगिताको उत्कृष्ट गोल किपर चुनिए ।

फाइनल खेलको म्यान अफ द म्याच विर्तामोडका जर्सि नम्बर ७ का सन्तोष राई घोषित भए । उनलाई विज्ञान एजुकेशन एकेडेमीका सञ्चालिका प्रमिला तामाङले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेकि थिइन ।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको उपाधि विर्तामोडका टिम कप्तान केशव दाहालले हात पारे भने हाइ स्कोरको उपाधि उर्लाबारीका दिपक लिम्बुले पाए ।
प्रतियोगिताको बिजेता विर्तामोडले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए भने उपविजेता बनेका उर्लाबारीले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
प्रतियोगितामा झापाका ७ र मोरङका आमन्त्रित १ टिम गरि जम्मा ८ टिम रहेका थियो । जस्मा रातो पाराबारी भेट्रान, भद्रपुर भेट्रान क्लब, कनकाई भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, तुर्केनी स्पोर्ट क्लब, निलो पारबारी भेट्रान क्लब सहित आमन्त्रित उर्लाबारी भेट्रान क्लबको सहभागिता थियो ।
पाराबारी भेट्रान क्लबको आयोजनामा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद “ भन्ने मुल नाराका साथ सञ्चालित प्रतियोगितामा शिबसताक्षी नगरपालिका र शिवसताक्षी- ३ प्रायोजक रहेको थियो ।

