
सजन राई ।
१ कार्तिक,दमक । झापाको दमकमा जारी दोस्रो रोयल महिला फुटबल प्रतियोगिता २०८० प्रदेश आमन्त्रण नकआउट फुटबलको चौथो दिनको खेलमा आयोजक रोयल स्पोर्टिङ क्लब दमक झापाले बिवाइसी इलामलाई हराउदै सेमिफाइनल प्रवेश गरेको छ ।
दमक-२ स्थित हिमालय माध्यमिक विधालयको खेल मैदानमा सञ्चालित प्रतियोगितामा दमकले ९-० गोल अन्तरको सानदार जित दर्ता गरेको हो ।
राष्ट्रिय खेलाडीको बहुलता रहेको दमकले सुरुवातबाट आक्रमक खेल प्रस्तुत गरेर गोलको बर्षा गरे । पहिलो हाफको ५औँ मिनेटमा दिपा शाहीको पासलाई सदुपयोग गर्दै अनमार्क रहेकि जेनिफर राना मगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन । ८औँ मिनेटमा कर्नर बललाई हेड मार्फत गोल गर्दै दमककि अमिसा कार्कीले अग्रता दोब्बर बनायो । पहिलो हाफको इन्जुरि समयमा दिपा शाहीले गोल गर्दै टिमलाई ३ गोलको अग्रता दिलाइन् ।
पहिलो हाफमा निरीह देखिएको इलामले दोस्रो हाफमा पनि कुनै आक्रमण बुन्न सकेन । दोस्रो हाफको खेल सुरु भएको पहिलो मिनेटमा नै इलामले गोल खान पुग्यो । यो पटक लक्ष्मी श्रेष्ठले गोल गर्दै टिमको गोल संख्या ४ पुर्याइन् । १२औँ मिनेटमा कर्नर बलको सदुपयोग गर्दै कुमारी तामाङले गोल गर्न सफल भइन् । इलामलाई दबाबमा राखेर खेल्न सफल दमकले १६औँ मिनेटमा पुन: जेनिफर मगरको कर्नर किकबाट छैटौँ गोल गर्यो । यो उनको व्यक्तिगत दोस्रो गोल थियो । जेनिफरले हानेको कर्नर किक इलामकि गोल किपरले कन्ट्रोल गर्न नसक्दा इलामले छैटौँ गोल खान पुग्यो ।
दमक त्यतिमै रोकिएन २३औँ मिनेटमा अमिसा कार्किले उत्कृष्ट गोल गर्दै व्यक्तिगत गोल संख्या २ पुर्याइन् । २५औँ मिनेटमा विष्णु सम्बाहाम्फेले ८औँ गोल गरिन् । निर्धारित समयको अन्तिम मिनेटमा दिपा शाहीको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै अमिसा कार्कीले हाट्रिक पुरा गरिन् । ३ गोल गरेकि कार्की खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।
सम्पूर्ण खेलको प्लेयर अफ द म्याचको पुरस्कार शान्त भाव सुधार केन्द्र दमक-६ ले सौजन्य गरेको आयोजक कमिटिले जानकारी दिए ।

रोयल स्पोर्टिङ क्लब दमकको आयोजना रहेको ‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ भन्ने नाराका साथ आइतबारदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको खेल संयोजक राजु खड्काले जानकारी दिए ।
प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजक रोयल स्पोर्टिङ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।
बिहीवार पहिलो सेमिफाइनल सिएफसी काठमाडौं र धरान महिला फुटबल क्लब सुनसरी बिच हुने आयोजक कमिटिका सदस्य आकाश लावतिले जानकारी दिए ।

