१३ कार्तिक, माङसेबुङ ।

इलामको माङसेबुङ गाउँपालिकाले वर्षाका कारण स्थगन गरेको जग्गा भोगचलनको निस्सा वितरण कार्य पुनः सुचारु हुने भएको छ ।
गत महिनाको १६ गते औपचारिक कार्यक्रम गरी वडा कार्यालयहरुबाट भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा भोगचलनको निस्सा वितरण कार्य सुरु गरेको भए पनि वर्षाका कारण भौगोलिक कठिनाइ परेको भन्दैे सो कार्य स्थगित भएको थियो ।
‘हामीले वडा नम्बर ६ र ३ मा निस्सा वितरण कार्य सम्पन्न गरेका छौं, अब बाँकी वडाका जनतालाई निस्सा वितरण गर्न तालिका सार्वजनिक भएको हो । तालिका अनुसार वडाहरुमा यो काम हुन्छ’, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले भने ।
बीचको समयमा चाडबाड परेकाले पनि निस्सा वितरणको काम केही दिन ढिलो भएको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङले बताए । निस्सा वितरण लगत्तै जिल्लास्थित राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा जग्गा नापजाँचलगायत प्राविधिक कार्य अघि बढाउने उनको भनाइ छ ।
माङसेबुङ गाउँपालिकाले जारी गरेको सूचना अनुसार कार्तिक १५ गतेबाट १८ गतेसम्म बाँकी रहेका ४ वटा वडामा निस्सा वितरण हुने उल्लेख छ । वडा नम्बर २ मा १५ गते, वडा नम्बर १ मा १६ गते, वडा नम्बर ५ मा १७ गते र वडा नम्बर ४ मा १८ गते सबन्धित वडा कार्यालयहरुबाट प्रत्येक दिन बिहान १० बजेबाट निस्सा वितरण हुने बताइएको छ ।
निस्सा लिन सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता लिएर वा सम्बन्धित व्यक्ति नभए एकाघरको नाता खुल्ने व्यक्तिले वडाको सिफारिसका आधारमा नागरिकता पेश गरेर निस्सा बुझ्न सक्ने समेत जारी सूचनामा उल्लेख छ ।

