सजन राई
१६ कार्तिक, माङसेबुङ ।
माङसेबुङ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्टिको निस्सा वितरण कार्यलाई गति दिएको छ ।
गत महिनाको १६ गते माङसेबुङ ६ को चिसोपानी पञ्चमी बजारबाट सुरु गरिएको निस्सा वितरण कार्य बीचमा वर्षा र चाडबाडका कारण स्थगित भएपछि पुनः बुधबारबाट सो कार्यले निरन्तरता पाएको हो ।
यसअघि वडा नम्बर ६ र ३ मा निस्सा वितरण कार्य पूरा भएको छ भने बुधबार माङसेबुङ २ वडा कार्यालयबाट पुनः वितरण कार्य थालिएको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङले जानकारी दिएका छन् । ‘ वडा नरम्बर २ का ८ जना भूमिहीन दलित, १३ जना भूमिहिन सुकुमबासी र ३ सय ९८ जना अव्यवस्थित बसोबासीहरुलाई गरी ४ सय १९ जनालाई निस्सा वितरण कार्य सम्पन्न गरेका छौं’, उपाध्यक्ष नेम्बाङले भने ।
निस्सा हात परेपछि माङसेबुङ २ का वृद्ध डम्बरसिंह दासले ३५ वर्षदेखि ऐलानी गज्जामा बसोबास गरिआएकोमा गाउँपालिकाले जग्गा भोगको निस्सा दिएपछि हर्ष लागेको बताए । उनले भने –‘३५ वर्षदेखि ऐलेनी बारीमा बसेको थिएँ । निस्सा दिनु भो उहाँहरुलाई धेरै धेरै धन्यवाद ।’
माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङ, प्रवक्ता सुसन राई, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहान, राजनीतिक दलका पालिका प्रतिनिधिहरु नेपाली कांग्रेस गाउँ सभापति चन्द्र कुमार साम्बा, एमाले गाउँ अध्यक्ष मित्रकुमार खड्का, नेकपा माओवादी केन्द्र गाउँ अध्यक्ष पृथिमान जबेगू लिम्बू, जनता समाजवादी पार्टी, नेपालका गाउँ अध्यक्ष किसान खजुम, नेकपा (एकीकृत समाजवादी) माङसेबुङ प्रतिनिधि हर्कप्रसाद साम्बा, राप्रपाका माङसेबुङ प्रतिनिधि र पालिकास्तरीय सहजीकरण समिति सदस्य एवम् पूर्व वडा अध्यक्ष मैतराज राई लगायत सहभागी सो कार्यक्रमबाट भूमिहीन दलित, भूमीहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा भोगचलनको निस्सा वितरण गरिएको थियो ।
बिहीबार पालिकाको १ नम्बर वडामा निस्सा विरतण कार्यक्रम आयोजना गरिएको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राईको भनाइ छ । बाँकी वडा नम्बर ५ र ४ मा क्रमशः १७ गते र १८ गते निस्सा वितरण कार्य हुने माङसेबुङ गाउँपालिकाले जनाएको छ ।
भूमिमाथिको स्वामित्व कायम गराउन लागि परेका छौं : अध्यक्ष राई
यसैबीच माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गाउँपालिकाका सबै जनतालाई भू–स्वामित्वको मालिक बनाउने आफूहरुको लक्ष्य रहेको बताएका छन् ।
हरप्रहरसँगको संक्षिप्त कुराकानीमा उनले भने –‘देशको संविधानले हरेक नेपालीलाई सुरक्षित आवास र भूमिमाथिको हक सुनिश्चित गरेको छ । यसको पूर्ण प्रत्याभूति गराउन हामी लागि परेका छौं ।’
माङसेबुङ गाउँपालिकामा २५ सय ८८ जनालाई जमिन जोतभोगका आधारमा निस्सा वितरण गर्ने गाउँपालिकाको पूर्व निर्णय अनुसार कार्य अघि बढिरहेको छ । ‘पुस्तौँपुस्ता आफू बसेको र जोतभोग गरेकाहरु मध्ये कतिपयसँग त पालिकामा धुरीकर तिरेको कागजात बाहेक अरु प्रमाण पनि नभेटिएको अवस्था छ’, अध्यक्ष राई भन्छन् –‘जनतालाई जग्गा धनीपूर्जा उपलब्ध गराएर जमिनको मलिक बनाउने कुरामा हामी प्रतिबद्ध छौं ।’
निस्सा वितरणको काम सकेर जिल्लास्थित राष्ट्रिय भूमि आयोगको प्राविधिक टोलीसँगको सहकार्यमा नापी कार्य थाल्ने गाउँपालिकाको तयारी छ ।