१६ कार्तिक, दमक ।
संघीय निजामती ऐन ल्याउन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जानाजान ढिलाई गरेको भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुबाटै संघीयतामाथि खतरा बढेको बताएका छन् ।
सत्तारुढ दलहरुले संघीयतामा प्रदेशलाई अधिकार दिन आनाकानी गर्ने प्रवृत्तिका कारण कतै संघीयता खारेजतर्फ लागेका त होइनन् भन्ने आशंका बढेको जसपा अध्यक्ष यादवको आरोप थियो ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले भने –‘आठ/आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरूलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ ?’
चुरे क्षेत्रमा उख्खनन् कार्यलाई प्रतिबन्ध लगाउने कानुन बनेर पनि त्यसको पालना नभएको भन्दै उनले सदन र सरकारको ध्यानाकर्षण गराएका थिए । ‘२०७२ सालमा कानुन बनेको छ चुरे क्षेत्रमा उत्खननलाई प्रतिबन्ध लगाउने गरी । त्यसलाई कार्यान्वयन गर्ने र चुरिया क्षेत्रको संरक्षण, त्यहाँको गिट्टी, ढुंगा निकाल्न रोक्ने र न्यून असर पर्ने ठाउँबाट निकालेर घरेलु प्रयोजनका लागि, आन्तरिक प्रयोजनका लागि लाग्नेगरी प्रतिबन्ध लगाउनुपर्छ । अनि मात्र पर्यावरणीय संकटबाट जोगाउन सकिन्छ । मधेशलाई मरुभूमीकरणबाट जोगाउन सकिन्छ’, यादवले भने ।