१८ कात्तिक, दमक ।
शुक्रबार मध्यराति गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १ सय २८ जना पुगेको छ ।
गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि यो समाचार तयार पार्दासम्म जाजरकोटका ९२ र रुकुमपश्चिमका ३६ गरी १ सय २८ जनाको मृत्यु भएको हो । जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको समेत भूकम्पमा परि मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार घाइँते हुनेको संख्या १४० बढी रहेको छ ।
भूकम्प गए लगत्तै राति १ बजेबाट चौरजहारी बेस क्याम्पको प्रहरी टोली उद्धारमा खटिएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिएका हुन् । सुर्खेतबाट समेत मेडिकल टोली र विपद् व्यवस्थपन टोली परिचालित भएको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।
घाइँतेहरुको जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली खटिएका छन् ।
प्रधानमन्त्री दाहाल मेडिकल टिमसहित जाजरकोट प्रस्थान
यसैबीच नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएको जानकारी अनुसार प्रधानमन्त्री दाहालसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् ।