सजन राई
१९ कार्तिक, माङसेबुङ ।
इलामको माङसेबुङ गाउँपालिकामा पहिलो चरणमा जारी निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । पालिकाभरका २५ सय बढीलाई जमिन चासभोगका आधारमा तथ्याङ्क प्रविष्ट गरी निस्सा वितरण गरिएको हो ।
गत असोज १६ गतेबाट सुरु भएको निस्सा वितरण कार्यक्रम वडा नम्बर ६ र ३ मा वितरण गरी त्यस बीचमा वर्षा र चाडपर्वका कारण स्थगित भएको थियो । त्यसपछि पुनः कार्तिक १५ गतेदेखि सुचारु गरिएको थियो ।
लगातार चार दिन लगाएर वडा नम्बर २, १, ५ र ४ मा भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई उनीहरुले भोगचलन गरिरहेको जमिनको निस्सा वितरण कार्यक्रम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
शनिबार माङसेबुङ ४ मार्चेबुङस्थित वडा कार्यालयमा निस्सा वितरण कार्यक्रममा सहभागी भएका अध्यक्ष राईले राष्ट्रिय भूमि आयोजको पुनः सूचनाका आधारमा कार्तिक ६ गतेसम्म थप लगत संकलन भएको जानकारी दिए ।
‘हामीले निक्कै मिहिनेत गरेर ६ वटै वडामा करिब तीन हजार निस्सा वितरण गरेका छौं । अब, तिहार सकिएपछि नै जिल्लास्थित राष्ट्रिय भूमि आयोगको प्राविधिक टोलीसँग समन्वय गरेर नापी गर्ने काम अघि बढाउँछौं’, उनले भने –‘नापी आउनु भन्दा अगाडि नै हामीबीच साँधसीमानालाई लिएर सँधियारबीच विवाद छ भने टोल विकास संस्था र वडाका जनप्रतिनिधिहरुको रोहबरमा मिल्ने मिलाउने काम सकिहाल्नु पर्छ । आएको नापी टोलीले जग्गा नापेर मात्रै फर्कने वातावरण बनाउन सबै लाग्नु पर्छ ।’
यसअघि गत असोज १६ मा माङसेबुङ ६ चिसोपानी पञ्चमीबाट निस्सा वितरण सुरु गर्दा २५ सय ८८ जनाको लगत प्रविष्ट भएको जानकारी दिइएको थियो । विभिन्न वडाहरुमा जग्गा धनीपूर्जाको पहिलो र बलियो आधारका रूपमा जमिनको निस्सा वितरण कार्य भएपछि स्थानीय खुशी भएका छन् ।
स्थानीय सरकारले जनताको भूमि सम्बन्धी समस्या समाधानका अतिरिक्त कृषि उत्पादन वृद्धि, ब्राण्डिङ र त्यसको बजारीकरणमा जोड दिँदै आयआर्जनको बाटो खोल्न पशु पालन, विभिन्न कृषि बालीमा अनुदान कार्यक्रम ल्याइएको गाउँपालिका उपाध्यक्ष बिनोद नेम्बाङको भनाइ छ ।
निस्सा वितरण कार्यक्रमको समापनमा उपाध्यक्ष नेम्बाङले भने –‘हामीले करिब तीन हजार जनालाई जग्गाको निस्सा उपलब्ध गराएका छौं । अब चाँडो भन्दा चाँडो पूर्जा उपलब्ध गराउन पालिकाको तर्फबाट द्रुत गतिमा काम अघि बढाउँछौं । त्यससँगै दुग्ध उत्पादन, व्यवसायिक बाख्रा पालन, इस्कुस, केरा, दाल, बाँस र यसबाट उत्पादन हुने विभिन्न परिकार र हस्तकलाका वस्तु उत्पादन र बिक्री वितरणमा हाम्रो जोड छ ।’
माङसेबुङ ४ लाई यसअघि नै प्रदेश सरकारले बाख्रा पालनको पकेट क्षेत्रका रूपमा तोकेर बजेटसमेत छुट्याएको छ ।
निस्सा वितरण कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र राई र गाउँपालिका प्रवक्ता सुसन राईले नेपाल सरकारको नीति अनुरूप प्रत्येक नागरिकलाई जमिनको मालिक बन्न पाउने संवैधानिक हक कार्यान्वयनमा पालिकाको टीम लागि परेको बताएका थिए ।
सो कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि गजेन्द्र राई ,जनता समाजवादी पार्टीका प्रतिनिधि केन्द्र राईलगायतले पालिकाको निस्सा वितरण कार्यबाट जनता खुशी भएको धारणा राखेका थिए ।
निस्साले पलायो आश
शनिबार ३ घण्टाको बाटो पैदल हिँडेर वडा कार्यालय आइपुगेकी ९० वर्षीया वृद्धा अनन्तमाया देवानले मर्नेबेलामा भए पनि आफ्नै नामको जग्गाको पूर्जा हेर्ने इच्छा रहेको बताएकी थिइन् ।
‘४० सालमा यो ठाउँमा आउँदा भर्खर मात्रै जंगल फँडानी भएको थियो । झुप्रो हाल्यौं, खनिखोस्री खायौं । आज ४० वर्ष बित्यो, ७ पटक फारम भर्दा बल्ला निस्सा पाइयो’, उनले भनिन् –‘अब मर्ने बेलामा पौरख गरेर बसेको माटो आफ्नै नाममा छ भनेर देख्ने इच्छा छ ।’
२०४२ सालमा चिसोपानी पञ्चमीदेखि बसाइ सरेर आएको धनबहादुर विकको परिवारले ३८ वर्षसम्म भूमिहीन सुकुमबासी भएरै माङसेबुङ ४ मा जुनी बिताएको थियो । शनिबार बल्ल आफूले रगत पसिना बगाएको जमिनको निस्सा पाउँदा खुशी लागेको विकले सुनाए । उनले भने –‘आज निस्सा भए पनि पाइयो । अब चाहिँ जग्गामा आफ्नै अधिकार छ भन्ने लागेको छ । चाँडै पूर्जा पाउन पाए हुन्थ्यो ।’
२०३४ सालमा खोटाङबाट आएर बलिमान सुब्बाबाट पाँच सय रूपैयाँ तिरेर करिब ४० रोपनी जग्गा लिएका बलबहादुर राई डेढ घण्टाको बाटो धाएर शनिबार निस्सा थाप्न आएका थिए । आफ्नो परिवारले जोतभोग गरिरहेको जमिनको निस्सा पाएपछि खुशी देखिएका राईले भने –‘अब बल्ला जग्गा आफ्नै नाममा आएको महसुस भएको छ । गाउँपालिकालाई धन्यवाद छ ।’
सिङ्गो वडामा ३९ घर परिवारसँग मात्रै छ धनीपूर्जा
माङसेबुङ ४ का ४ सय ५७ घरधुरीमध्ये ३९ जनासँग मात्रै नम्बरी जग्गाको पूर्जा छ । यहाँ ७ जना भूमिहीन दलित, १ सय ४७ जना भूमिहीन सुकुमबासी र २५९ जना अव्यवस्थित बसोबासी रहेका वडा कार्यालयले जनाएको छ ।
२०६५/६६ सालसम्म ८ सय हाराहारी घरधुरी रहेको यस वडामा जग्गा समस्याकै कारण अत्यधिक बसाइ सराई गरी जाने समस्या रहेको माङसेबुङ ४ का वडा अध्यक्ष नवीन लिम्बूको भनाइ छ । वडा कार्यालयका अनुसार हाल माङसेबुङ ४ मा ४ सय ५७ घरधुरीको बसोबास रहेको छ ।
‘आफूले जोतभोग गरेको जमिनको पूर्जा नपाएर धेरै भरपरिवारले सुनिश्चित भविष्यको खोजीमा बसाइ सरेर गएको देखिन्छ’, वडा अध्यक्ष लिम्बूले भने –‘त्यतिबेला बाटोको समस्या झन बिकराल थियो । शिक्षा, स्वास्थ्यदेखि आफूले उत्पादन गरेका कृषि उत्पादन बिक्री गर्न लैजान पनि समस्या हुने गरेको थियो ।’
दमक–रवि–चिसोपानी (फाल्गुनन्द मार्ग) बन्न थालेपछि वडावासीलाई केही राहत भएको वडा अध्यक्ष लिम्बूको भनाइ छ ।