adv

स्वीकारोक्ति फाउण्डेसनले विश्व शान्ति यात्रा सुरु गर्दै

९ मंसिर, दमक ।


‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ मूल नाराका साथ भोलि आइतबारबाट स्वीकारोक्ति फाउण्डेसनले ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ थाल्ने भएको छ ।

अमेरिकामा मुख्य कार्यालय रहेको यस संस्थाले आइतबार झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीबाट औपचारिक कार्यक्रम गरेर यात्रा थाल्न लागेको हो ।

यात्रा बारे जानकारी दिन शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा पत्रकार सम्मेलन गरिएको थियो ।

स्वीकारोक्ति फाउण्डेसन र स्वीकारोक्ति अभियानको ११ औँ वार्षिकोत्सवको अवसरमा खुशी, शान्ति र सद्भाव वृद्धिका लागि ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ आयोजना गरिएको फाउण्डेसनका अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम संयोजक कर्ण गुरुङले जानकारी दिएका हुन् । ‘झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट हामी यात्राको विधिवत सुरुवात गर्ने छौं, उनले भने ।

फाउण्डेशनको आयोजनामा अमेरिकाबाट आएको स्वीकारोक्ति अभियानको टोलीले शुक्रबार बिहान वातवरण संरक्षण र शान्तिको सन्देश प्रवाहका लागि एक सयभन्दा बढी साइकल यात्रीद्वारा काठमाडौका विभिन्न स्थानहरुको भ्रमण गरेको र बिहीबार साँझ सडक पेटीमा भोकै सुतेका एक सय ३० जना भन्दा बढी मानिसहरूलाई प्रदिप घिमिरेको सहयोगमा खाना समेत वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यात्रा नेपाल र भारतका विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धि कार्यक्रमहरुसहित सम्पन्न हुने साथै अन्य वर्षहरूमा अन्य देशहरूमा सो यात्रा जारी रहने पत्रकार सम्मेलनमा सम्प्रेषित विज्ञपितमा उल्लेख छ ।

स्वीकारोक्ति यात्रा २०२३ का क्रममा नेपालको काठमाडौं झापा, सुनसरी, मोरङ, इलामलगायत जिल्लामा कार्यक्रम हुने छन् भने भारतको आसाम राज्यको गुहाटी, सिक्किमको गेन्टोक र दार्जीलिङको सिलिगुरीमा कार्यक्रम सम्पन्न गरी पुनः का ठमाडौँमा २०८० मंसिर २८ र २९ गते दुई दिवसीय साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन आयोजना गरी समापन हुने छ । सो कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् ।

यात्राका क्रममा भारत आसमका वयोवृद्ध साहित्यकार लीलबहादुर क्षेत्रीलाई नेपाली राशी छ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरिने आयोजकको भनाइ छ ।

यात्राका क्रममा विभिन्न स्थानहरुमा वृक्षरोपण, आर्थिक अनुदान हस्तान्तरण, साहित्यिक वहस, विद्यार्थीहरूसँग छलफल र कार्यशाला आयोजना गरिने छ ।

यात्राको सान्दर्भिकता बारे स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राईले प्रकाश पार्दै सहयोगका लागि आह्वान समेत गरेका थिए ।

कार्यक्रममा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, कवि विप्लव प्रतीक ,काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम राई परिक्षित, अमीर मसाल र प्राडा गोविन्द रिजालको उपस्थिति रहेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु