मंसिर १३, माङसेबुङ ।
१६ औँ संस्करणको आत्मानन्द कपको फाईनलमा घरेलु टोली माङसेबुङ र तिजोक पाँचथरले उपाधि भीडन्त पक्का गरेका छन् ।
प्रस्तावित आत्मानन्द रंगशालामा आज (बुधबार) भएको दोस्रो सेमिफाईनल खेलमा एमएफसी दार्जिलिङ भारतमाथि ३–० को शानदार जित निकाल्दै तिजोक पाँचथरले माङसेबुङसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
दुवै टिमले उपाधिका लागि आईतबार(मंसिर १७) प्रतिस्पर्धा गर्ने छन् ।
तिजोक पाँचथरको जितमा बिनोद धमला, निर्देश राई र योगेन कार्कीले समान १-१ गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा खेलेको पान्थर दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको थियो ।
दोस्रो हाफको १७ औं मिनेटमा बिनोद धमलाले उत्कृष्ट गोल गर्दै पान्थरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि थप दबाबमा परेको पाहुना टोलीमाथि दोस्रो हाफको २८ औं मिनेटमा निर्देश राईले गोल गर्दै अग्रता दोब्बर पारे भने खेलको अन्तिम ३५ औं मिनेटमा योगेन कार्कीले गोल गर्दै तिजोक पान्थरलाई ३–० को शानदार जित पक्का गरेका थिए ।
खेलको म्यान अफ दी म्याच विजेता टिम पान्थरका बिनोद धमला घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
किरात धर्मका वर्तमान गुरु आत्मनन्द लिङ्देनको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत जारी १६ औं संस्करणको आत्मानन्द कप २०८० फुटबल प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिकी सचिव सरिता राईले जानकारी दिइन् ।


