१३ मंसिर, दमक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले जारी पार्टी पुनर्गठन अभियानलाई निरन्तरता दिने भएको छ ।
यसअघि गत भदौबाट सुरु भइ कार्तिकमा समाप्त हुने पार्टीको तीन महिने अभिायनलाई निरन्तरता दिन लागिएको हो ।
जसपा कार्यकारिणी सदस्य एवम् केन्द्रीय प्रवक्ता मनिष सुमनका अनुसार अभियानलाई निरन्तरता दिने बारे छिट्टै पार्टीको बैठक बसेर निर्णय हुने छ । ‘कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थप्ने निर्णय हुन्छ, अहिलेलाई त्यही अभियानलाई निरन्तरता दिने हो’, सुमनले भने ।
जसपाले गत असारमा विधान अधिवेशनबाट नयाँ विधान कार्यान्वयनमा ल्याएसँगै विधान बमोजिम पार्टीका संरचना निर्माणका लागि पार्टी पुनर्गठन र सुदृढीकरण अभिायन चलाएको थियो । तीन महिने अभियानले पार्टीको प्रदेश समिति र राष्ट्रिय समिति र केही जिल्ल र पालिका समितिहरुमा पुनर्गठन कार्य सम्पन्न भएका छन् ।
मधेश प्रदेशको पार्टी पुनर्गठन कार्य बाँकी रहे पनि अन्य प्रदेश समिति र राष्ट्रिय समितिको पुनर्गठन कार्य पूरा भई केन्द्रीय समितिलाई प्रतिवेदनसमेत प्राप्त भइसकेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
अभियानको निरन्तरताले जिल्ला र पालिका समिति गठन, पुनर्गठन कार्य सम्पन्न हुने उनले बताए । केन्द्रीय समितिको बैठक बस्नु भन्दा अगाडि नै जिल्ला, पालिका र सम्पूर्ण भातृ सङ्गठन पुनर्गठन लगायत कार्य गरिसक्ने पार्टीको तयारी रहेको बताइन्छ ।